झापा, ३ माघ । आन्तरिक राजस्व कार्यालय भद्रपुरले गत वर्षको तुलनामा चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिमा १२.३४ प्रतिशतले राजस्व संकलन वृद्धि गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु. एक अर्ब ५१ करोड आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क संकलन गरेको कार्यालयका प्रमुख कृष्ण काफ्लेले बताउनुभयो ।
गत आव २०८०/०८१ को सोही अवधिमा कार्यालयले रु. एक अर्ब ३५ करोड राजस्व संकलन गरेको थियो । गत वर्षको तुलनामा १२.३४ प्रति राजस्व वृद्धिदर रहेको उहाँले जानकारी दिनुभयो ।
कार्यालयमा स्थायी लेखा नम्बर लिएका ४७ हजार व्यावसायिक फर्म दर्ता रहेका छन् । झापाको माइपूर्वदेखि साविक मेची अञ्चलको पहाडी जिल्ला ताप्लेजुङसम्मका करदाताले यही कार्यालयमा राजस्व बुझाउने गरेका छन् ।
चालू आव २०८१/०८२ को अर्धवार्षिक अवधिमा रु. एक अर्ब ८८ करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा ८०.४६ प्रतिशत लक्ष्य पूरा भएको उहाँले बताउनुभयो । गत आवको सोही अवधिमा लक्ष्यको तुलनामा ७९.६२ प्रतिशत लक्ष्य पूरा भएको थियो ।
राजस्व असुलीमा कडाई गरिएको र नयाँ करदाता समेत थपिएको कारण राजस्व असुलीको वृद्धि भएको कार्यालयका प्रमुख काफ्लेको भनाई छ । चालू आवमा नक्कली स्टीकर लगाएर मदिरामा राजस्व छली गर्ने फर्महरुलाई कानूनी कारवाही गरिएको र करदाता शिक्षालाई अभियानकै रुपमा अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।
साउनदेखि यता १९ स्थानमा करदाता शिक्षा कार्यक्रम सञ्चालन, डिजिटल भुक्तानीलाई प्रोत्साहन र अबैध कारोवारलाई निरुत्साहित गरिएको उहाँले बताउनुभयो । भन्सार छलेर अबैध रुपमा आयात हुने मालसामानमा कडाई हुँदा बैध आयात र कारोवारमा बृद्धि भइरहेको कार्यालयले जनाएको छ ।