झापा, ७ माघ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा दुई लाख अवलोकनकर्ता भित्राउने लक्ष्यका साथ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी पूरा भएको छ ।
कोशी प्रदेशकै अर्थतन्त्रलाई चलायमान तुल्याउने र सार्क मुलुकका उत्पादनको प्रवर्धन गरिने महोत्सवमा १५० वटा सुविधासम्पन्न व्यापारिक स्टल रहने विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताउनुभयो ।
माघ ८ देखि १९ गतेसम्म विर्तामोडकोे वडा नं. ५ मा महोत्सव सञ्चालन हुने भएको छ । जहाँ ११८ वटा स्टल अट्ने नेपालको सबैभन्दा ठूलो ह्याङ्गर प्रयोगमा ल्याइने भएको छ ।
हाल ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक ब्यापार महोत्सव’को प्राविधिक तयारी अन्तिम चरणमा पुगेको छ । स्टल निर्माण कार्य सम्पन्न भइसकेको महोत्सव मूल आयोजक समितिका व्यवस्थापक ललित सिम्खडाले बताउनुभयो ।
“सार्क राष्ट्रका व्यवसायीहरुले स्टल राख्ने निधो भइसकेको छ,” उहाँले भन्नुभयो–“स्थानीय उद्योगका उत्पादनले पनि व्यवसाय प्रवद्र्धनको राम्रो अवसर पाउनेछन् ।” महोत्सवमा सुनदेखि नुनसम्मका स्वदेशी उत्पादन र गाडीदेखि गार्मेन्टसम्मका विदेशी उत्पादन राखिएको स्टल अवलोकनकर्ताका लागि आकर्षणको केन्द्र बन्नेछन् ।
महोत्सवमा अपलोकनकर्ताको आगमन बढाउन मनोरञ्जनमूलक कार्यक्रम समेत सञ्चालन गरिने भएको छ । हरेक दिन ट्रेन्डिङका कलाकारको सांगीतिक प्रस्तुति रहने भएको छ भने स्थानीय मौलिक पहिचान झल्किने कार्यक्रमहरु राखिने व्यवस्थापक सिम्खडाले जानकारी दिनुभयो ।
विर्ता उद्योग वाणिज्य संघले विगत लामो अवधिदेखि औद्योगिक तथा व्यापार महोत्सवको आयोजना गर्दै आएको छ ।