२६ चैत २०८१, बुधवार

मदन भण्डारी राजमार्ग

रुख कटानको अनुमति नपाउँदा सडक निर्माणमा ढिलासुस्ती

८ माघ २०८१, मङ्गलवार
Image

झापा, ८ माघ । बन विभागबाट रुख कटान अनुमति दिन ढिलाई हुँदा मदन भण्डारी राजमार्गको सडक र पुल निर्माण प्रभावित भएको छ ।

राजमार्गको पूर्वी खण्ड अन्तर्गत झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म ९५.८ किलोमिटर सडक हाल निर्माणाधीन छ । जसमा ३७ वटा पुल छन् ।

बन बिभागबाट रुख कटान अनुमति नआउँदा मुख्य सडक र पुलको पहुँचमार्ग निर्माणमा बिलम्ब भइरहेको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तले बताउनुभयो ।

उहाँका अनुसार झापा, इलाम, मोरङ र सुनसरी जिल्लाको २४.५४ किलोमिटर राजमार्ग बन क्षेत्रमा रहेको छ । रुख काट्न अनुमति नहुँदा बन क्षेत्रको सडक र पुल निर्माण अधुरै छ ।

बनको ५१ हेक्टर जग्गामा १३ हजार ८३४ वटा रुख कटान गर्नु पर्ने भएकाले भोगाधिकार र रुख कटानका लागि मदन भण्डारी राजमार्ग योजना कार्यालयले मन्त्रिपरिषद् र बन बिभागसँग अनुमति मागेको थियो ।

मन्त्रिपरिषद्ले यही २०८१ मङ्सिर ६ गते मोरङको २१ हेक्टर र सुनसरीको १४ हेक्टर गरी कूल ३५ हेक्टर बन क्षेत्रको जग्गाको भोगाधिकार राजमार्गका लागि दिने निर्णय गरिसकेको छ । बन बिभागसँग उक्त जग्गाको सात हजार ६६३ वटा रुख कटानका लागि सम्झौताको प्रक्रिया अघि बढेको दत्तले जानकारी दिनुभयो ।

झापाको १० हेक्टर र इलामको ६ हेक्टर गरी कूल १६ हेक्टर बन क्षेत्रको भोगाधिकार र त्यहाँ रहेका छ हजार २७१ वटा रुख कटानको अनुमति अझैसम्म प्राप्त भइसकेको छैन । भोगाधिकार तथा रुख कटानको फाइल बन तथा भूसंरक्षण विभागबाट बन तथा वातावरण मन्त्रालयमा पेश हुने प्रक्रियामा रहेको मदन भण्डारी राजमार्ग योजना कर्यालय दमकका सूचना अधिकारी दत्तले बताउनुभयो । 

“हालसम्म पनि भोगाधिकार र रुख कटानको अनुमति प्राप्त नहुनु योजनाको प्रमुख चुनौति बनेको छ,” उहाँले भन्नुभयो–“कतिपय पुलको पहुँच सडकको रेखांकनमा बन क्षेत्र पर्ने कारणले निर्धारित समयमा कार्य सम्पन्न हुन सकेको छैन ।”

हालसम्म राजमार्गको ९५.८ किलोमिटर लामो पूर्वी खण्ड (झापा, इलाम, मोरङ र सुनसरी)मा ४१.६८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने २२ वटा पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ ।

पूर्वको झापादेखि पश्चिमको डडेल्धुरा जिल्ला जोड्ने यो राजमार्ग चुरे महाभारत क्षेत्रमा निर्माणाधीन छ । यसको कूल लम्बाई एक हजार २०० किलोमिटर रहेको छ । धरानदेखि हेटौडासम्मको ३०० किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ भने पूर्वी खण्डमा धमाधम कार्य भइरहेको छ ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।