९ माघ २०८१, बुधवार

आन्तरिक राजस्व कार्यालय, भैरहवाको राजस्व संकलनमा सुधार, प्रमुख कर अधिकृत भन्छनः ६ महिनामा लक्ष्यको ८७.४३ प्रतिशत राजस्व संकलन गर्यौ

९ माघ २०८१, बुधवार
Image

भैरहवा, माघ ०९ । आन्तरिक राजस्व कार्यालय, भैरहवाको राजस्व संकलनमा सुधार आएको छ। कार्यालयले चालु आर्थिक वर्ष २०८१÷८२ को ६ महिनामा (साउन देखि पौषसम्म) लक्ष्यको ८७.४३ प्रतिशत राजस्व संकलन गरेको छ ।
कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले पौष महिनामा विभागले दिएको १ अर्ब २३ करोडमा १ अर्ब ३ करोड संकलन गरेको बताउनु भयो । यो लक्ष्यको ८४.४९ प्रतिशत हो। प्रमुख पोख्रेलका अनुसार यो गत आवको पौष महिनामा संकतिल राजस्वसँग तुलना गर्दा १३.४९ प्रतिशतले वृद्धि हो। 

यसैगरी, चालु आर्थिक वर्षको पौष महिनासम्मको लागि ६ अर्ब ३३ करोड संकलनको लक्ष्य राखेकोमा ५ अर्ब ५४ करोड अर्थात लक्ष्यको ८७.४३ प्रतिशत प्रतिशत संकलन भएको पोख्रेलले जानकारी दिनुभयो। पोख्रेलले गत वर्षको सोही अवधिमा संकलित राजस्व ४ अर्व ७७ करोडको तुलनामा १६ प्रतिशतले वृद्धि भएको बताए। 

कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा आयकरतर्फ ७८ करोड १९ लाख, मूल्य अभिवृद्धि करतर्फ ९३ करोड ९३ लाख र अन्तःशुल्क वापत ३ अर्ब ७३ करोड संकलन गरेको छ ।
अर्थतन्त्रका सूचकहरूमा देखिएको सुधार, नक्कली मू.अ.कर बीजक जारी गर्नेलाई कारबाहीको दायरामा ल्याएर कर असुल्नु, नियमित बजार अनुगमन, बक्यौता असुलीमा तीव्रता, कर परीक्षण र अनुसन्धानको प्रभावकारिता जस्ता कारणले राजस्व संकलनमा वृद्धि देखिएको उनी बताउँछन् ।