झापा, १८ माघ । सभामुख दवराज घिमिरेले बिर्तामोडस्थित बालाजी मन्दिर नजिकै निर्माण गरिएको गायत्री माताको मन्दिरमापाँच दिवसीय अनुष्ठानको शुभारम्भ गर्नु भएको छ ।
विहीवार अनुष्ठानको उद्घाटनपछि शोभायात्राले बिर्तामोड नगर परिक्रमा गरेको थियो । शोभायात्रामा सभामुख घिमिरे आफैं सरिक हुनु भएको थियो ।
आचार्य आशुुतोष खनालको संयोजनमा २१ जना ब्राम्हण र एक सय जना बटुक समेत शोभायात्रामा सहभागी बनेका थिए । पञ्चेवाजा सहित निकालिएको शोभायात्रामा स्थानीय भजन कीर्तन समूहका महिलाहरु समेत सरिक थिए । विभिन्न भेषभूषामा सजिएर कलशयात्रामा सरिक महिलाहरुले गायत्री माताको मन्त्र उच्चारण गरेका थिए ।
बिर्तामोडमा पहिलो पटक आयोजना गरिएको गायत्री माताको पाँच दिवसीय अनुष्ठान माघ २१ गतेसम्म सञ्चालन हुने हुनेछ ।
स्थानीय दाता , बिर्तामोड नगरपालिका र प्रदेश सरकराको संयुक्त अढाई करोड रुपैयाँको लगानीमा निर्माण गरिएको गायत्री माताको मन्दिर परिसरमा अनुष्ठान शुरु भएसंगै दैनिक नेपाल तथा भारतमा ख्यातिप्राप्त भजन गायकद्वारा भजन कीर्तनको आयोजना गरिएको महाप्रसाद वितरण गरिने बताइएको छ ।
भजन कीर्तनका लागि कृष्ण भण्डारी, आयुष शर्मा, साहिल कोहली, धीरज सिंह राजपुत र नेहा सिंह राजपुत सहभागी हुने वंशलले जानकारी दिए ।
आगामी माघ २० गते नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचनको आयोजना गरिएको छ ।
आगामी माघ २१ गते विधि पूर्बक प्राण प्रतिष्ठा गरिने गायत्री मन्दिर सेवा समितिका कार्यक्रम संयोजक रौनक वंशलले बताउनुभयो ।
मन्दिरको प्राण प्रतिष्ठा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्ने कार्यक्रम तय भएको छ ।
मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरिएको छ । जसका लागि स्पाइन एक्स हस्पिटल प्रालिले निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था मिलाएको छ ।