२३ माघ २०८१, बुधवार

श्रमजीवि पत्रकारहरुको उपचारको दायित्व सरकारले लिनुपर्छ ः पूर्व मुख्यमन्त्री राई

२२ माघ २०८१, मङ्गलवार
Image

झापा, २२ माघ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य शेरधन राईले श्रमजीवि पत्रकारहरुको उपचारका लागि राज्यले दायित्व लिनुपर्ने बताउनुभएको छ । 

प्रेस चौतारी झापाले आज दोमुखामा आयोजना गरेको २७ औं स्थापना दिवस तथा बनभोज कार्यक्रमलाई सम्बोधन गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न महत्वपूर्ण योगदान पुर्याएका पत्रकारका लागि सरकारले सबै प्रकारका रोगको उपचारलगायतका विषयमा दायित्व बहन गर्नुपर्ने बताउनुभएको हो ।

“म सञ्चारमन्त्री मन्त्री हुँदा वि.सं. २०७२÷०७३तिर सरकारी अस्पतालमा उपचार गर्दा ५० प्रतिशत पत्रकारहरुलाई छुट गर्नुपर्ने नीति पास गरेर कार्यान्वयनमा ल्याएको थिएँ”, उहाँले विगतलाई स्मरण गर्दै भन्नुभयो, “अहिले के भइरहेको छ, यदि रोकिएको छ भने त्यसलाई निरन्तरता दिनुपर्छ ।”

पूर्व मुख्यमन्त्री राईले नेपाली समाजलाई सुसंस्कृत र सवल बनाउन सामाजिक सञ्जाल नियमन गर्न विद्येक नै ल्याउनुपर्ने स्थिति खडा भएको बताउनुभयो । सोसियल मिडिया दुरुपयोग गरेर मिथ्या, भ्रामक समाचार सम्प्रेषण गरी अपवाफ फैलाउनेलाई नियमन गरी पत्रकारिता पेशलाई मर्यादित र जिम्मेवार बनाउन सरकारले बाध्य भएर सो विद्येय संसदमा दर्ता गरेको उहाँको टिप्पणी थियो ।

उहाँले मुलुकमा सुशासन कायम गर्दै संविधानको रक्षा गर्न र संघीय मर्म अनुरुप मुलुकलाई अगाडि बढाउन नेपाली कांग्रेस र नेकपा एमालेले मिलेर सरकार बनाएको बताउनुभयो 

प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव कृष्ण हुमागाईं, विर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, प्रेस सेन्टरका जिल्ला अध्यक्ष पुष्प पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।