८ फागुन २०८१, बिहिवार

झापाली पत्रकार भन्छन् राससको समाचार सबैभन्दा विश्वसनीय

५ फागुन २०८१, सोमवार
Image

झापा, ५ फागुन । जिम्मेवार पत्रकारिताको सन्दर्भमा राष्ट्रिय समाचार समिति (रासस) पहिलो श्रेणीमा रहेको कार्यक्रमका सहभागीले बताएका छन् ।

राससको ६४ औं वार्षिकोत्सवको अवसरमा आज झापाको भद्रपुरमा आयोजित ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका’ विषयमा झापाका पत्रकारबीचको अन्तरक्रिया कार्यक्रमका सहभागीले जिम्मेवार पत्रकारिताको सवालमा रासस पहिलो नम्बर रहेको बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपाल सदस्य गणेश पोखरेलले नेपाली मिडियाका लागि रासस अनिवार्य र अपरिहार्य रहेको बताउनुभयो । उहाँले नेपालका साना–ठूला सबै मिडियाले ५० प्रतिशत भन्दा बढी समाचार प्रयोग गर्ने गरेको बताउनुभयो ।

राससका समाचार सामग्री प्रयोग गर्ने मिडियाले स्रोत खुलाउनुपर्नेमा उहाँले जोड समेत दिनुभयो । राससले आमनागरिकको अपेक्षा अनुसार आफ्ना समाचारलाई केन्द्रित गर्नुपर्नेमा उहाँले जोड समेत दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष सुब्रत न्यौपानेले रासस एक मात्र प्रभावकारी सञ्चारमाध्यम भएकाले यसले उत्पादन गर्ने समाचारमा विविधता रहेको बताउनुभयो ।

सामाजिक सञ्जालमा आउने भ्रामक समाचारहरुलाई राससले चिर्नुपर्नेमा जोड दिँदै उहाँले आधिकारिक वेभसाइटलाई अझ परिमार्जित गर्नुपर्ने, अनुसन्धानमूलक समाचारमा जोड दिनुपर्ने र साना मिडियाहरुलाई सहुलित दरमा सेवा दिनुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा पत्रकार महासंघका पूर्वअध्यक्ष एवम् अग्रज पत्रकार गोविन्दचन्द छेत्रीले झापामा २०२५ सालदेखि राससले सेवा प्रवाह गर्दै आएको स्मरण गर्नुहुँदै राससको समाचार विश्वसनीय भएको बताउनुभयो । “म धेरै तिर धेरै किसिमको समाचार हेर्छु, साँचो हो कि झुटो हो, थाहा हुँदैन”, उहाँले भन्नुभयो, “तर, रासस त्यस्तो भ्रमलाई चिर्ने गरेको छ ।”

महासंघका पूर्वअध्यक्ष मोहन काजीले राससका समाचार अझ जनमुखी हुनुपर्नेमा जोड दिनुभयो । मिडिया क्षेत्र संकटमा रहेकाले रासस सहुलियत दरमा सदस्यता दिनुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै, महासंघका पूर्वअध्यक्ष तारामणि सापकोटाले पछिल्लो समय राससको बुलेटिनमा धेरै सुधार आएको बताउनुभयो । “राजनीतिक रुपमा पनि अहिले सन्तुलित समाचार आउँछ, पहिला बायस हुन्थ्यो”, उहाँले भन्नुभयो, “रासस अझ परिस्कृत हुँदै जाओस् शुभकामना छ ।”

प्रेस चौतारी झापा अध्यक्ष प्रदीप परियारले कोरोना महामारीपछि मिडिया बन्द हुने क्रम बढेकाले साना मिडियालाई राससको ग्राहक सदस्यतामा थप सहुलियत दिनुपर्नेमा जोड दिनुभयो । नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमले सबैले राससको समाचार प्रयोग गर्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै न्यूनतम् शुल्कमा सेवा दिन आग्रह गर्नुभयो ।

फोनिज झापाका अध्यक्ष अर्जुन राजवंशीले पछिल्लो समय राससको सेवा प्रवाह छिटोछरितो भएको बताउनुभयो । सरकारी निकायमा भएका बेथितिका समाचारलाई समेत राससले प्राथमिकताका प्रकाशन गर्नुपर्ने बताउनुहुँदै उहाँले ‘थर्ड एंगल’बाट समेत समाचार आउनुपर्ने बताउनुभयो ।

अन्तरक्रियामा भद्रपुर प्रेस क्लबका अध्यक्ष राजबाबु शंकरले नेपाली सञ्चार जगतमा राससको महत्व विशेष रहेको बताउनुभयो । सामाजिक सञ्जालको भद्रगोलको भूमरीमा परेका पाठकलाई राससले त्यो भ्रमबाट निकाल्न मद्दत मिलेको बताउनुभयो । उहाँले राससलाई अझ परिस्कृत बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा पत्रकार लेखनाथ परदेशी, देवेन्द्र किशोर ढुंगाना, रेवती राज घिमिरे, अर्जुन कार्की, द्रोण अधिकारी, रमा दाहाल, खगेन्द्र भण्डारी, राजकुमार ओली लगायतले वार्षिकोत्सवको शुभकामा दिँदै सुझाव समेत राख्नुभएको थियो ।

रासस भद्रपुर कार्यालय प्रमुख दीपक चन्दको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमको सञ्चालन राससकर्मी अम्बिका भण्डारीले गर्नुभएको थियो ।