झापा, ६ फागुन । नेपाल सरकारले मिर्गौला रोगीका लागि हेमोडाइलासिस सेवा निःशुल्क दिन थालेपछि अस्पताल भरिभराउ हुनेगरी ठूलो संख्यामा विरामी लाभान्वित भएका छन् ।
झापाको भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा दैनिक ६० जना विरामीले निःशुल्क हेमोडाइलासिस सेवा पाइरहेको अस्पतालका प्रशासन प्रमुख मनोज दाहालले बताउनुभयो ।
नेपाल सरकारले सञ्चालन गर्दै आएको विपन्न नागरिक उपचार कोषमार्फत मिर्गौलाका विरामीले अस्पतालबाट निःशुल्क सेवा पाएका हुन् । “बिरामीले कुनै शुल्क तिर्नुपर्दैन,” प्रशासन प्रमुख दाहालले भन्नुभयो– “एक जनाको एकपटक डाइलासिस गरेवापत नेपाल सरकारले अस्पताललाई कोषमार्फत रु. दुई हजार ५०० उपलब्ध गराउँछ ।”
दुबै मिर्गौलाले काम नगरेको अवस्थामा शरीरको रगत शुद्धिकरणका लागि चिकित्सकको सिफारिसमा विरामीको हेमोडाइलासिस गराउनु पर्ने हुन्छ । झापामा यो सेवा उपलब्ध गराउने ओमसाई पहिलो र सबैभन्दा बढी क्षमताको अस्पताल हो । हाल सेवा दिने अरु पाँच वटा स्वास्थ्य संस्था थपिएका छन् ।
ओमसाई पाथिभरा अस्पतालमा हेमोडाइलासिसका लागि २१ वटा मेसिन सञ्चालनमा रहेका छन् । एक जना विरामीलाई सेवा दिन चार घण्टाको समय लाग्ने र दैनिक तीन शिफ्टमा औसत ६० जनाले सेवा पाइरहेको दाहालले बताउनुभयो ।
अस्पतालबाट हाल १६७ जनाले नियमित रुपमा डाइलासिस सेवा लिइरहेका छन् । सरकारको स्वास्थ्य बिमामा आवद्ध नरहेका विरामीले समेत पालिकाको सिफारिसमा विपन्न नागरिक उपचार कोषबाट आजीवन निःशुल्क हेमोडाइलासिस सेवा प्राप्त गर्ने अस्पतालले जनाएको छ ।
मिर्गौलाका विरामीको उपचारमा सरकारले निःशुल्क डाइलासिस सेवा दिएर नागरिकको प्राण बचाइरहेको भद्रपुर नगरपालिका वडा नं. ७ लेखनाथ चोकका ७० वर्षीय मनोरञ्जन न्यौपानेले बताउनुभयो ।
उहाँले बिगत दश वर्षदेखि नियमित रुपमा हेमोडाइलासिस सेवा लिइरहेको बताउनुभयो । “हप्ताको तीनपटक डाइलासिस गर्न ओमसाई धाउने गरेको छु,” उहाँले भन्नुभयो– “अस्पताल र सरकारले दिएको निःशुल्क सेवा सुविधाप्रति आभारी छु ।”
मेचीनगर–७ की सीता निरौला आफ्ना पति विष्णुप्रसाद निरौलाको मिर्गौला डाइलासिस गराउन साताको दुईपटक ओमसाई पाथिभरा अस्पतालमै धाउने गर्नु भएको छ । सरकारले डाइलासिस निःशुल्क गरिदिए तापनि घरबाट अस्पताल ओहोरदोहोर गर्न एम्बुलेन्स सुविधा नदिएको बताउनुभयो ।
“माथिको सरकारले डाइलासिस निःशुल्क गरिदियो, स्थानीय सरकार (पालिका)ले एम्बुलेन्स सुविधा निःशुल्क गरिदिए हाम्रा विरामीहरुलाई सहज हुन्थ्यो,” उहाँ भन्नुहुन्छ–“पटकपटक लाग्ने एम्बुलेन्सको भाडा तिर्न नसकेर टेम्पो चढेर अस्पताल धाउने गरेका छौं ।”
कोशी प्रदेशकै सबैभन्दा ठूलो डाइलासिस उपचार थलोको रुपमा परिचित ओमसाई पाथिभरा अस्पतालमा १८ देखि ८२ वर्षसम्मका बिरामीले नियमित रुपमा सेवा लिइरहेको जनाइएको छ । फिस्टुला राख्ने सुविधा समेत स्वास्थ्य बिमामार्फत दिने हुँदा उक्त अस्पतालमा मिर्गौला डाइलासिस गराउन आउने विरामीको घुइँचो बढेको छ ।