८ वैशाख २०८२, सोमवार

सञ्चार ऐन बनाउने मेचीनगरको निर्णय

६ फागुन २०८१, मङ्गलवार
Image

झापा, ६ फागुन । मेचीनगर नगरपालिकाले मुलुकमै पहिलोपल्ट पालिका तहको सञ्चार ऐन बनाउने भएको छ ।

नगर कार्यपालिकाको आज सम्पन्न बैठकले सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन ऐन निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको प्रवक्ता दिपक बरालले बताउनुभयो ।

प्रवक्ता बरालका अनुसार निजी, सार्वजनिक र साझेदारी सम्बन्धी ऐन समेत बनाउन बैठकले सैद्धान्तिक सहमति दिएको छ ।

यसअघि मेचीनगरले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न मेचीनगर सञ्चार प्रतिष्ठान गठन गरेको थियो । कार्यविधिमार्फत गठन भई सञ्चालनमा रहेको प्रतिष्ठान पनि मुलुकमै पहिलोपल्ट मेचीनगरमा गठन भएको थियो ।

कतिपय कानूनी व्यवस्थाको अभावले प्रतिष्ठानको काम कार्वाही प्रभावकारी बन्न सकेको थिएन । चालू आर्थिक वर्षमै सञ्चार क्षेत्रका सरोकारवालाहरुसँग छलफल गरेर ऐन निर्माण गरिने प्रवक्ता बरालले जानकारी दिनुभयो ।

कार्यपालिकाको आजको बैठकले कोशी प्रदेश सरकारको योजना बैंकमा पठाउने योजनाहरु वडास्तरबाटै छनौट गर्ने, वीपी कोइराला र वीरेन राजबंशी स्मृति छात्रवृत्ति वितरणका लागि बजेट कार्यान्वयन गर्ने, समपूरक र विशेष अनुदानका लागि संघीय सरकारलाई योजना सिफारिस गर्ने लगायतका निर्णयहरु गरेको प्रवक्ता बरालले बताउनुभयो ।

कार्यपालिकाको बैठक मेचीनगर नगरप्रमुख गोपाल बुढाथोकीको अध्यक्षतामा भएको थियो ।