झापा, ७ फागुन । पत्रकार प्रकाश पौडेलको अध्यक्षतामा प्रेस क्लव मेचीनगरको नयाँ कार्य समिति गठन भएको छ ।
क्लवको आज काँकरभिट्टामा सम्पन्न दशौं साधारण सभा तथा छैठौं अधिवेशनले खबरमञ्च साप्ताहिकका सम्पादक पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा अनुसन्धान अनलाइनका सम्पादक खगेन्द्र घिमिरे, महिला उपाध्यक्षमा सेतोपत्र अनलाइनकी सम्पादक मनिषा गौतम, सचिवमा पूर्वी गर्जन अनलाइनका सम्पादक प्रविण अधिकारी, सहसचिवमा बोर्डरल्यान्ड दैनिकका नवराज सुबेदी र कोषाध्यक्षमा बोर्डरल्यान्डका दिलीप थापा निर्वाचित हुनु भएको छ ।
सदस्यमा सुजन प्रधान, सेवन्ता घिमिरे, भोला तिम्सिना र पुष्कर गुरागाई सर्वसम्मत चयन हुनु भएको छ । एक जना सदस्य पछि मनोनित गरिने भएको छ ।
क्लवका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा भएको साधारणसभा उद्घाटन कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङ हुनुहुन्थ्यो ।
कार्यक्रममा प्रमुख अतिथि तामाङसहित नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिकी उपाध्यक्ष अम्बिका भण्डारी, मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकी, नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु कार्की, नेपाली कांग्रेस मेचीनगरका उपसभापति योगेन्द्र थापा मगर, प्रेस क्लवका पूर्व अध्यक्षहरु सन्तोष आचार्य, मुक्ति पौडेल, ज्ञानेन्द्र निरौला र लक्ष्मी उप्रेतीले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।
क्लवका उपाध्यक्ष जीआर धितालले स्वागत मन्तब्य र सचिव देबु बानियाँले सञ्चालन गर्नु भएको उद्घाटन साधारणसभामा अध्यक्ष बरालले सांगठनिक वार्षिक प्रतिवेदन र कोषाध्यक्ष विनिशा शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।