११ फागुन २०८१, आइतवार

बलकोटलाई दरबार भन्दा दुख लाग्छ, ३३ बर्ष जागिर खाएर बनाएकी हुँ- राधिका शाक्य

१० फागुन २०८१, शनिवार
Image

काठमाडौं । राधिका शाक्यले आफ्नो पति प्रधानमन्त्री केपी शर्मा ओलीजस्तो व्यक्तिबारे अनेक नकारात्मक टिप्पणी गर्ने गरिएकामा दुःख लाग्ने गरेको बताएकी छन् । 

आफुले लेखेको आत्मकथा ‘करुणा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै शाक्यले आफूले नेपाल राष्ट्र बैङ्कमा ३३ वर्ष जागिर खाएर बालकोटमा घर जोडेको र अहिले पनि पेन्सनबाट खर्च चलाएको उल्लेख गर्दै बालकोटको घरलाई दरबार भनेर प्रचार गर्ने गरिएको भन्दै दुःख पोखेकी हुन् ।

उनले भनिन्- ‘हाम्रो जीवनशैली सामान्य नै हो । दुःखी, गरिब र असहायलाई सहयोग गर्न पाउँदा खुसी लाग्छ । जीवनको एक–एक हिसाब बुझाउन म तयार छु । बालकोटको घर हाम्रो पसिना र मेहनतबाट बनाइएको हो । सम्पूर्ण नेपालीले सहज रूपमा लाउन र खान पाउनुपर्छ भन्ने हिसाबले हामी लागिरहेका छौँ ।’

सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि एक साक्षी भएकाले उक्त पुस्तक कुनै उपन्यास वा कथा नभएको र यसमा कुनै बनावटी कुरा नभएको बताएका थिए ।

उनले भने- 'हुन त आफ्नै श्रीमतीको प्रशंसा गर्यो भन्ने पर्ला तर म ढुक्कका साथ भन्न सक्छु, यो पुस्तक २४ क्यारेटको छ । यसको सत्यताबारे कसैले चुनौती दिन सक्दैन । मेरो हुतीले बालकोटमा हाम्रो घर बन्न सक्ने पनि थिएन । त्यो सबै राधिकाको कमाई र मेहनत हो । त्यो घर पनि ट्रष्टका नाममा दान गरिसकिएको छ । मेरो त सानो हुँदा आफूले खनजोत गर्ने गरेको झापाको खेत पनि बाढी पहिरोले बगाइसकेको छ । राधिका नहुने हो भने म अहिलेसम्म यसरी बाँच्न सक्ने थिइनँ ।”