धुलाबारी, ११ फागुन । मेचीनगर–१० धुलाबारी स्थित सरकारी स्वामित्वमा रहेको साझा सहकारी भवनको जग्गा परिसरको घर, टहरा डोजर लगाएर भत्काइएको छ ।
आज वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालको नेतृत्वमा गएको नरप्रहरी र सुरक्षाकर्मीहरुको टोलीले धुलाबारी बजार नजिक हाल कराते सिकाउने भवन रहेको उक्त जग्गा परिसरमा रहेको घर, टहरा डोजर लगाएर भत्काएको हो ।
साझा सहकारी भवनको जग्गा परिसरमा रहेका स्थानीय राम साह, लक्ष्मण साह र शिवशंकर साहको घर, टहरा आइतबार केहि भाग भत्काइएको छ ।
साहका परिवार, स्थानीय समाजसेवीहरुको अनुरोध र रोहवरमा सामान नझिकेका कारण ११ दिनको समय दिएर घर, टहरा खाली गर्न सहमति भएको वडाध्यक्ष खनालले जानकारी दिए ।
‘साझा सहकारी भवन सरकारी जग्गा हो’, वडाध्यक्ष खनालले भन्नुभयो, ‘राज्यको सम्पत्ति संरक्षण गर्ने जिम्मा नगरको हो । सरकारी जग्गामा कसैले पनि घर, टहरा बनाएर बस्ने पाइदैन । त्यसैले हटाउने प्रक्रिया सुरु गरेका हौँ ।’
उक्त जग्गाको भवनको आसपास बाल उद्यान केन्द्र, ज्येष्ठ नागरिक र युवाहरुका लागि व्ययामशाला निर्माण गर्ने लक्ष्य रहेको उहाँको भनाई छ ।
मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले साह परिवारलाई पटक पटक पत्र दिएर हटाउन जानकारी गराएपनि अटेर गरेपछि घर, टहरा भत्काउन सुरु गरेको बताउनुभयो ।