हाम्रो मेचीनगर
हाम्रो मेचीनगर
झापा, २१ फागुन । पचहत्तर बर्षको उमेरमा नागरिकता प्रमाणपत्र पाउँदा मेचीनगर नगरपालिका वडा नं. २ की नीरकुमारी राईको हर्षको सीमा रहेन । नागरिकता पाउनुलाई उहाँले जीवनकै सबैभन्दा ठूलो धोको पूरा भएको बताउनुभयो ।
“नातिले नागरिकता पाउने बेला भइसक्यो, मेरो बनेको थिएन,” हालै पाएको नागरिकता देखाउँदै उहाँले भन्नुभयो–“बनाइदेउ न भनेर बुढालाई धेरैचोटी भनेँ, आफन्त र नातागोता गुहारेँ । नागरिकताले भात खान दिने होइन क्यारे, बुढेशकालमा किन चाहियो भन्दै सबै ततर्किए । वडाध्यक्षले बल्ल अहिले बनाइदिनुभयो ।”
नीरकुमारीका पति सन्तमान राईको पाँच वर्ष अघि निधन भइसकेको छ । चार कठ्ठा पाखो बारीमा खनीखोस्री नातिनातिना हुर्काउँदै आउनु भएकी उहाँका तीन छोरा पेटपालनका लागि रोजगारी गर्न भारतको बैंगलुरु गएका छन् ।
नीरकुमारीका पति सन्तमानको नागरिकता थियो । छोराहरुको पनि नागरिकता छ । तर, पतिकै वेवास्ताका कारण आफुले यतिका वर्षसम्म नागरिकता नपाएको उहाँको गुनासो छ । घर नजिकैको भृकुटी र बाहुनडाँगी बजारमा नागरिकता बनाउने टोली पटकपटक आउँदा समेत उहाँको नागरिकता बनाउने पहलै भएन ।
नागरिकता बनेपछि हर्षित नीरकुमारीले पहिलोपटक सामाजिक सुरक्षा भत्ता पाउनु भएको छ । जग्गाको स्वामित्व पतिबाट आफ्नो नाममा सार्ने उहाँको इच्छा छ ।
तीन छोरामध्ये जेठो राजकुमार घर छुट्टिएर बस्दै आएको उहाँले बताउनुभयो । माइलो बिजय राई र कान्छो पविराम राई रोजगारीका लागि बैंगलुरु गएका छन् । जेठी बुहारीको मृत्यु भइसकेको, माइली बुहारीले घर छाडेर हिँडेको र कान्छो छोरा अविवाहित भएको जनाउँदै उहाँले नाति नातिना पढाएर माइलो छोराको घरमा बस्दै आएको बताउनुभयो ।
वडा कार्यालयले अपांगता भएर बोल्न नसक्ने, सुन्न नसक्ने, आँखा नदेख्ने र एकल जीवन बिताइरहेका ज्येष्ठ नागरिकहरुको नागरिकता बनाइदिने अभियान चलाएको छ । सोही क्रममा नीरकुमारी राईको आफुले सनाखत गरेर नागरिकता दिलाएको वडाध्यक्ष दिपक बरालले बताउनुभयो ।
“जसको कोही छैनन्, उसका लागि वडा कार्यालय छ,” वडाध्यक्ष बराल नागरिकता अभियान बारे भन्नुहुन्छ–“सनाखत गर्ने मान्छे ल्याउनु पर्यो भनेर सीडीओहरु नागरिकता दिन आनाकानी गर्नुहुन्छ । गलत व्यक्तिलाई सिफारिस गरेको रहेछु भने मलाई लगेर थुनिदिए हुन्छ भन्दै मैले नै उहाँहरुको सनाखत गरिदिने गरेको छु ।”
सनाखत गरिदिने नातेदारको निधन भइसकेको र सम्पर्कमा नरहेको अवस्थामा कोही पनि वडाबासी ज्येष्ठ नागरिकहरुले आफ्नै थाकथलोमा अनागरिकको पीडा भोग्नु नपरोस् भनेर वडाले सिफारिस र वडाध्यक्षको तर्फबाट सनाखत गरिदिएको बराल बताउनुहुन्छ ।
सुस्त श्रवण, दृष्टिविहीन र आफन्त गुमाइसकेका दशजना ज्येष्ठ नागरिकको चालू आर्थिक वर्षमै सिफारिस दिएर नागरिकता दिलाइसकेको उहाँले जानकारी दिनुभयो । त्यस्ता व्यक्तिहरुको नागरिकता बनाउने क्रममा वडा कार्यालय र जिल्ला प्रशासन कार्यालय धाउने खर्च समेत वडाले व्यहोर्ने गरेको छ ।
आर्थिक रुपमा विपन्न परिवारकै ज्येष्ठ वुवाआमाहरु नागरिकता बनाउनबाट वञ्चित रहेको आफुले पाएको उहाँले बताउनुभयो । त्यहीकारण उनीहरुको नागरिकता बनाउँदा लाग्ने खर्च वडा कार्यालयको तर्फबाटै व्यहोरिएको उहाँको भनाई छ ।
आफन्त गुमाइसकेका सोही वडाका केशरबहादुर राईले ८६ वर्षको उमेरमा हालै नागरिकता पाउनुभयो । वडाध्यक्ष बराल आफैले सिफारिस र सनाखत गरेर उहाँको पनि नागरिकता बनेको हो ।
वि.सं. २०१८ सालमा पहाडबाट तराई झरेका केशरबहादुर मेचीनगरको बाहुनडाँगी आउँदा २२ वर्षको लक्काजवान हुनुहुन्थ्यो । उमेर पुगे पनि उसबेला नागरिकता बनाउने चलन थिएन । विहे गरेर पत्नीसहित उहाँ रोजगारीको खोजीमा बाहुनडाँगीबाट भौतारिदै भारतको आसाम पुग्नुभयो । वि.सं. २०२४ मा आसामबाट थाकथलो बाहुनडाँगीमै फर्किनुभयो ।
“उमेर छउञ्जेल गरिखान बलियो पाखुराले पुगिहाल्यो, सन्तान नभएपछि नागरिकता बनाउनेतिर लागिएन”– उहाँले भन्नुभयो । पत्नीको मृत्युपछि एक्लो जीवन बिताइरहेका उहाँसँग बुढेशकालमा न सन्तानको सहारा थियो, न त नागरिकता नै आधार ।
आसामबाट फर्केर आएपछि पत्नीको मृत्यु बाहुनडाँगीमै भएको उहाँले बताउनुभयो । अर्काको घरखेतमा ज्यालादारी काम गरेर जीवन बिताउँदै आउनु भएको उहाँको आफ्नो जग्गा छैन । रात काट्नका लागि चौबाटोको कुनोमा सानो झुपडी बनाएर उहाँ बस्दै आउनु भएको छ ।
ज्येष्ठ नागरिकको सम्मान र पहिचानका खातिर आफुले केशरबहादुरको नागरिकता बनाउने पहल गरेको वडाध्यक्ष बरालले बताउनुभयो । नागरिकता पाएपछि उहाँको जीवनमा खुशीको उमंग छाएको छ । आफ्नो झुपडीमा बलियो झ्यालढोका नभएको कारण नागरिकता नहराओस् भनेर उहाँले छिमेकीको घरमा जतनका साथ राख्न दिने गरेको बताउनुभयो ।
“मर्ने बेलामा नागरिकता त साथमा भयो नि,” दशमुजा परेको अनुहारमा चमक छर्दै केशरबहादुर राई भन्नुहुन्छ–“गाउँका अरुले त चाहिदैन तिमीलाई नागरिकता भनेर टिप्पा खेलाउँथे । वडाध्यक्ष बराल बाबुले चाहिँ हिँड्नुहोस् म बनाइदिन्छु भनेर घरमै लिन आउनुभयो ।”
बुढेशकालमा ज्यालादारी काम गर्न नसकेर कयौ रात भोकै सुतेका केशरबहादुरले वृद्धभत्ता थाप्न थालेपछि खान र लाउन चिन्ता गर्नु परेको छैन । वडाका जनप्रतिनिधिले अशक्त ज्येष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता घरघरै पुर्याइदिने गरेका छन् ।
गाउँबस्ती पुग्ने क्रममा अर्काको घरमा आश्रय लिएर बसेका बोल्न नसक्ने र कान नसुन्ने थुप्रै बुढाबुढीहरुको बिजोक देखेको र उनीहरुसँग नागरिकता समेत नरहेको थाहा पाएपछि नागरिकता प्रमाणपत्र बनाइदिने सोच उब्जिएको वडाध्यक्ष बराल बताउनुहुन्छ ।
आफन्तले हेरचाह नगरिदिदा दुःख बिमार भएका बेला चन्दा उठाएर अस्पताल पुर्याउनु पर्ने अवस्थाका उनीहरुले नागरिकता पाएपछि सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य बिमामार्फत उपचार सुविधा नियमित रुपमा पाइरहेको वडाध्यक्ष बरालले बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले व्यक्तिको अवस्था होइन, प्रमाण हेरेर नागरिकता दिइने बताउनुभयो । प्रमाणले नागरिकता पाउन योग्य वृद्धवृद्धाको नागरिकता बनाउन सकिने उहाँले बताउनुभयो ।
“नेपालमा बंशज, जन्म, विवाह र गैरआवासीय पहिचानका आधारमा नागरिकता दिइने कानूनी व्यवस्था छ,” सहायक प्रजिअ नेपालले भन्नुभयो–“उमेरले पाका भइसकेका र असहाय व्यक्तिहरुको नागरिकता सिफारिस गरेर वडाध्यक्षहरु प्रशासनमा आउनुहुन्छ । उहाँहरुको प्रमाण र सनाखतका आधारमा नागरिकता दिने गरेका छौं । शारीरिक अशक्तहरुको हकमा नागरिकता प्रमाणपत्र घरमै पुर्याइदिने समेत गरेका छौं ।”
उमेरका आधारमा ज्येष्ठ नागरिकको दर्जामा पुगिसकेका व्यक्तिहरुको नागरिकता प्रमाणपत्र बनाउन वडाध्यक्षहरुले दिएको सिफारिस र सनाखत एउटा आधार भए तापनि वास्तविकता बुझ्न कानून बमोजिम माग भइआएका प्रमाणहरु र प्रहरीमार्फत आउने प्रतिवेदनलाई मसिनो ढंगले हेर्ने गरिएको सहायक प्रजिअ नेपाल बताउनुहुन्छ ।
बुढेशकालमा शारीरिक दुर्वलताले गर्दा हिँडडुल गर्न मुस्किल हुन्छ । आयश्रोत नभएको अवस्थामा उनीहरुको जीविका कष्टकर हुन्छ । आफन्तको वेवास्ता र राज्यको उपेक्षा थपिदा उनीहरुको जीवनयापन सास्तीपूर्ण हुन्छ । त्यस्तो बेला नागरिकता हुनेहरुले राज्यबाट सामाजिक सुरक्षा भत्ता र विमाको उपचार पाउने गरेका छन् । तर, नागरिकता नभएकाहरु यो लाभबाट वञ्चित छन् ।
वर्षौदेखि बसोबास गर्दै आएका ज्येष्ठ नागरिकहरु सनाखत गरिदिने नातेदारको अभावमा नागरिकता पाउनबाट वञ्चित रहँदै आएकोमा मेचीनगर–२ को वडा कार्यालयले सराहनीय कार्य गरेको स्थानीय पूर्वशिक्षक धर्मानन्द निरौला बताउनुहुन्छ ।
राज्यले नागरिकता पाउन नसकेका वृद्धवृद्धालाई खोजीखोजी नागरिकता दिने राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्ने र यस कार्यका लागि स्थानीय तहलाई परिचालन गर्नुपर्ने उहाँको धारणा छ । उहाँका अनुसार अझै पनि देशभर थुप्रै ज्येष्ठ व्यक्तिहरु नागरिकता नपाइकनै मृत्युवरण गर्न अभिशप्त छन् ।
“बाहुनडाँगीका कुनाकाप्चासम्म आरा काटेर हिँड्ने गर्नुहुन्थ्यो । कहिले अर्काको घरमा ज्यालादारी गर्नुहुन्थ्यो,” केशरबहादुरको नागरिकता बनेकोमा खुशी व्यक्त गर्दै पूर्वशिक्षक निरौलाले भन्नुभयो–“अब त बुढो हुनुभयो, रोगी हुनुभयो । अर्काकोमा काम गर्न जानसक्नु हुन्न । यस्तो बेलामा नागरिकता बनेपछि कमसेकम राज्यको वृद्धभत्ताले बाँच्ने सजिलो आधार त बन्यो नि ।”