झापा, २६ फागुन । अखिल नेपाल महिला संघ (अनेम संघ) जिल्लामा महिलाहरुको अग्रणी संस्थाको रुपमा स्थापित हुँदै गएको छ । संघले महिलाको हक, हित र अधिकारको क्षेत्रमा वडादेखि जिल्लासम्म नै सक्रिय रुपमा काम गरिरहेको अनेम संघ जिल्ला अध्यक्ष लीला दाहालले बताउनुभयो ।
उहाँले विपन्न, अशक्त, अल्पसंख्यकलगायत विभिन्न समुदायका महिलासहित मजदूर र किसानहरुलाई लक्षित गरी यसपाली पनि आठ मार्चमा ११५ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस भव्य रुपमा मनाएको बताउनुभयो । स्थापना कालदेखि नै अनेम संघले महिलाहरुको अधिकार, लैङ्गिक समानता, महिला सशक्तिकरणका लागि उलेख्य काम गर्दै आएको उहाँको कथन छ ।
अखिल नेपाल महिला संघले दिवसको अवसर पारेर प्रादेशिक अस्पताल भद्रपुरमा फलफूल वितरण, चिया, कुचो, पूर्वाधार निर्माणलगायत विभिन्न क्षेत्रमा काम गर्दै आएका श्रमिक महिलाहरुलाई सम्मान गरेको थियो ।
त्यसैगरी, मेचीनगर क्षेत्रीय कमिटी र नगर कमिटीले मेचीनगर –२ मा नारीलाई ‘समान अधिकार र व्यवहार’ शीर्षकमा केन्द्रीय उपाध्यक्ष मेनुका काफ्लेको प्रमुख आतिथ्यतामा वक्तृत्वकला प्रतियोगिता गरेको थियो । प्रतियोगितामा नगरका १५ वटै वडाका विद्यार्थीहरुले सहभागिता जनाएको थिए ।
दिवसकै अवसर पारेर अर्जुनारा नगर कमिटीले ज्येष्ठ आमाहरुलाई सम्मानका साथै महिलाहरुलाई कानुनी प्रशिक्षण कार्यक्रम गरेको थियो । संघको शिवसताक्षी नगर समितिले वडा नम्बर–४ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।
केन्द्रीय उपाध्यक्ष काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दुई सय बढी महिलाले सुगर प्रेसर जाँचलगायतको स्वास्थ्य परीक्षण गराएका थिए ।
संघकी जिल्ला सचिव कोपिला चौलागाईका अनुसार अनेम संघ दमक नगर कमिटिले वडास्तरीय हाजिरी जवाफ प्रतियोगिता गरेको थियो । उहाँले जिल्लाका १५ वटा पालिकाका कमिटिहरुले श्रमिक महिला दिवसलाई रचात्मक ढंगले मनाएको जानकारी दिनुभयो ।
जिल्ला अध्यक्ष दाहालले अनेम संघले २०३७ साल फागुन १७ गते पुनर्स्थापना पछि निरन्तर रुपमा श्रमिक महिला दिवस मनाउँदै आएको बताउनुभयो । उहाँले संघले २०३८ सालदेखि २०४६ सालसम्म भूमिगत रुपमा र त्यसपछि खुल्ला रुपमा सो दिवस मनाउँदै आएको जानकारी दिनुभयो ।