२७ फागुन २०८१, मङ्गलवार

हाम्रो मेचीनगर

नन्दा करिडरमा पहिलोपटक रैथाने खानाको महोत्सव हुँदै

२६ फागुन २०८१, सोमवार
Image

झापा, २६ फागुन । मेचीनगरको आकर्षक पर्यटकीय स्थल नन्दा करिडरमा पहिलोपटक मंगलवारदेखि रैथाने खानाहरुको महोत्सव आयोजना हुँदैछ ।

नन्दा करिडर प्रवर्धन केन्द्रले आयोजना गरेको महोत्सवमा दनुवार, राजबंशी, मेचे र धिमाल समुदायको परिकार स्टलमा राखिने भएको करिडरका अध्यक्ष धर्मेन्द्र खड्काले बताउनुभयो ।

महोत्सवको आयोजनमा मेचीनगर नगरपालिका र पर्यटन कार्यालय काँकरभिट्टाले सहकार्य गरेको छ । फागुन २७ गते दिउँसो १ बजे सुरु हुने महोत्सव फागुन २८ गते राति ८ बजेसम्म सञ्चालन हुने करिडरका सचिव निर्मल दाहालले जानकारी दिनुभयो । 

महोत्सवका लागि धुलाबारीस्थित नन्दा करिडर पर्यटकीय क्षेत्रलाई सजाइएको छ । त्यहाँ अलग अलग समुदायको परिकारको स्टल राख्ने व्यवस्था मिलाइएको छ ।

आदिबासी समुदायको रैथाने खानाहरु लोप हुन लागिरहेको हुँदा त्यसको संरक्षण र प्रबर्धन गर्न महोत्सवको जमर्को गरिएको करिडरका सहसचिव देबेन्द्र दाहाल बताउनुहुन्छ ।

महोत्सवका बारेमा आइतवार केन्द्रले धुलाबारीमा पत्रकार सम्मेलनको आयोजना समेत गरेको थियो । पत्रकारहरुले साधेको जिज्ञासाको जवाफ अध्यक्ष खड्का लगायत करिडरका पदाधिकारीहरुले दिनु भएको थियो ।

“स्वाद र पोषणका दृष्टिले रैथाने खानाहरु धेरै नै महत्त्वपूर्ण छन्,” अध्यक्ष खड्काले भन्नुभयो–“तर, तिनीहरुको प्रवर्धन, प्रचार र व्यावसायिकरण हुन सकेको छैन । हामीले त्यही उद्देश्य लिएर महोत्सवको आयोजना गरेका हौं ।”

महोत्सवका स्टल कोर्डिनेटर निरज श्रेष्ठका अनुसार महोत्सवमा मेचे समुदायको याङफारे, फेतो, सिताव र कुखुराको मासु विक्रीका लागि राखिने छ । राजबंशीको घुँगी, पेल्का, भाक्का र माछाको झोल समेत महोत्सवको आकर्षण हुनेछ भने दनुवारको तोल, ग्यान्द्रो, चिचिरी र सुँगुरको परिकार विक्रीका लागि राखिने श्रेष्ठले बताउनु भयो । 

महोत्सवमा केराको बुङ्गोको अचार, गंगटाको अचार, पिठोको रोटी, न्वागी अर्थात खीर समेत राखिने भएको छ । कार्यक्रममा स्थानीय शान्ति समाजको महिला समूहले शाकाहारी खानेकुरा पनि महोत्सवमा राख्ने श्रेष्ठले बताउनु भयो । शान्ति समाजले सेलरोटी, ढिडो, फापरको फुरौला र गुन्द्रुकको अचार लगायतका खानेकुरा शान्ति समाजको महिला समूहको स्टलमा रहने भएको छ । 

महोत्सवमा विभिन्न परम्परागत सामग्री र चित्रकला प्रर्दशनी गरिनेछ भने चार जातिका भेषभुषा तथा साँगीतिक प्रस्तुति रहने भएको छ । सो अवसरमा रैथाने परिकार सम्बन्धी माविस्तरीय हाजिरी जवाफ प्रतियोगिता समेत सञ्चालन हुने भएको छ ।

मेचीनगर वडा नं. १० का वडा अध्यक्ष नारायण खनालले रैथाने खाना र लोकसंस्कृतिको जगेर्ना स्थानीय सरकारको प्राथमिकता रहेको बताउनुभयो ।