मेचीनगर, २७ फागुन । मेचीनगर नगरपालिकाको रोजगार सेवा केन्द्र, रेमी र सामी परियोजनाका कर्मचारीले विदेश गएका, आएका र उनीहरुको परिवारलाई सचेतना र सीप सिकाउने काम गरिरहेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत रोजगार सेवा केन्द तथा विदेशमा मृत्यु भएका, अंगभंग भइ घाइते भएका, फर्किएका र उनीहरुको परिवारहरुका लागि रेमी परियोजनाले सचेतना, सीप सिकाउने र क्षतिपूर्ति दिलाउने काम गरिरहेको छ ।
नगरपालिकाको रोजगार सेवा केन्द्रकी शाखा प्रमुख कृपा रेग्मीले विदेश गएका, आएकाहरुलाई सचेतना, उद्यमशीलता र मृत्यु वा घाइते भएमा क्षतिपूर्ति सम्म उपलब्ध गराउने काम गरिरहेको जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षको २०८१/०८२ को साउनदेखि हालसम्म नगरका ६२३ जना नागरिक वैदेशिक रोजगारका लागि विभिन्न देश गएको उहाँको भनाई छ । उहाँका अनुसार गतवर्ष ९४५ जना गएका थिए ।
यो दुईवर्षको अवधिमा करिव एक हजार २ सय जना नागरिक विदेश गएको उहाँले बताउनुभयो । यही अवधिमा विदेश गएका तीन जनाको मृत्यु भएको, १२ जना अंगभंग भई घाइते भएका छन् । क्षतिपूर्तिका लागि वैदेशिक रोजगार बोर्ड काठमाडौँमा सिफारिस गरिएको थियो ।
दीर्घरोगी भएका ३२ जनामध्ये १४ जनाले उपचारका लागि जनही ५० हजार रुपैयाँ भुक्तानी पाएको रेग्मीले बताउनुभयो । उपचार सेवा पाउने दीर्घ रोगीमा ५ वटा रोग जसमा मुटु, मिग्रौला, क्यान्सर, अलजाइमर र पार्किनसन रहेको छ ।
२०७८ को जनगणना अनुसार मेचीनगरका एकलाख ३३ हजार जनसंख्यामा करिव २२ हजार नागरिक विदेशबाट मेचीनगर फर्किएको अनुमान उहाँको छ ।
विदेशबाट फर्किएका, उनीहरुको परिवार, स्वास्थ्यकर्मी, टोल विकास समिति, जनप्रतिनिधि लगायतलाई सामाजिक अभिमुखिकरण दिने गरिएको छ ।
यो वर्ष विदेशबाट फर्किएका, उनीहरुको परिवारका ५० जनालाई अनुगमन र छनोट गरेपछि उद्यमशीलतामा लगाएर सीप सकिाउने कार्यक्रम रहेको दाहालले बताउनुभयो । उहाँका अनुसार रोजगारको वातावरण सिर्जना गर्न १० लाखको बजेटमा प्रविधि सहयोग पुराउने उदेश्य रहेको छ । उक्त परियोजनामा ७ जना कर्मचारी खटिएका छन् ।
यता सुरक्षित आप्रवासन (सामी) परियोजनाले पनि वैदेशिक रोजगारीमा विदेश गएका र जान लागेका नागरिकहरुलाई परामर्श र सचेत गराउने गरेको छ ।
सामीकी वित्तिय साक्षरता सहजकर्ता प्रमि पाठकले गत चार वर्षमा १२ हजार ८७४ जना नागरिकलाई सचतेना दिएको बताउनुभयो । वैदेशिक रोजगारलाई सुरक्षीत, व्यवस्थित, भरपर्दो, मर्यादित, उपलब्धीमुलक बनाउन मेचीनगरमा वित्तिय साक्षरता अभियान सञ्चालन गरिरहेको उहाँको भनाई छ ।
वैदेशिक रोजगारमा विप्रेषण भएका र उनीहरुका परिवारलाई वित्तियरुपमा साक्षर बनाउन २५ जनाको समूह बनाएर २१ हप्ते अभियान चलाएर करिव एक हजार महिलालाई आत्मनिर्भर बनाइएको पाठकको दावी छ ।
सुरक्षित वैदेशिक रोजगारीमा जानुअघि ध्यानदिनु पर्ने कुराहरुका लागि टोलसम्मै पुगेर समूदायमा अभिमूखिकरण कार्यक्रम गरिरहेको बताइएको छ । यसवर्ष ४८ वटा यस्ता कार्यक्रम मध्ये करिव २० वटा सचेतना कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।
सामी परियोजनाले वैदेशिक रोजगार बोर्डसँग समन्वय गरेर मेचीनगरबाट विदेश गएर विभिन्न कारणले मृत्यु वा घाइते भएकाको क्षतिपूर्तिका लागि पहल गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय झापमा रहेको सामीको कार्यालयले पनि वैदेशिक रोजगारमा जानेलाई परामर्श दिइरहेकको सहजकर्ता पाठकले बताउनुभयो ।
विदेशबाट फर्किएका रिटर्नीहरुको नगरस्तरीय सञ्जाल गठन समेत गरिएको छ । २०८१ असार १८ गते अनिल शिवाकोटीको अध्यक्षतामा १३ सदस्यीय नगरस्तरीय रिटर्नी सञ्जाल गठन गरिएको छ ।
जसको उपाध्यक्षमा दीननाथ खतिवडा, सचिवमा रविन राउत, सहसचिवमा कोषराज भट्टराई र कोषाध्यक्षमा बुद्विमता अधिकारी तथा सदस्यहरुमा राजकुमार घिमिरे, शोभा पाठक, पर्शुराम गिरी, दर्पण भण्डारी, वेदनाथ घिमिरे, लीला कट्टेल, युवरााज कटुवाल र मनोज कटुवाल रहेका छन् । अब वडास्तरीय रिटर्नी सञ्जाल पनि गठन गरिने बताइएको छ ।