२८ फागुन २०८१, बुधवार

बाहुनडाँगीमा हात्ती भन्दा बढी बाँदर आतंक

२७ फागुन २०८१, मङ्गलवार
Image

झापा, २७ फागुन ।  मेचीनगर नगरपालिका–४ नम्बरमा हात्ती भन्दा बढी बाँदरले आतंक मच्याउन थालेको स्थानीयवासीको गुनासो छ । 

स्थानीयवासीका अनुसार बाँदरले खेतबारीमा लगाएको अन्नबाली मात्र नभएर घरमै भण्डारण गरेको अन्न र पकाएर राखेको भात समेत खाइदिएर हैरान पारेको छ । 

कोरोना महामारीका समयमा वस्ती पसेका बाँदरले निरन्तर दुःख दिन थालेपछि स्थानीयवासी हैरान भएका हुन् । वडा नम्बर ४ की ४५ बर्षीया लीला बस्नेतले बाँदरको कारण बसाई सनुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । 

“बारीको त कुरा छाडौं न पकाएर राखेको भात पनि खान पाउन छाडियो”, उहाँले भन्नुभयो, “हात्तीले त दुःख दिएकै थियो अब बाँदरले पनि बसिखान दिएन । बसाई नै हिंड्नु पर्ने भइसक्यो ।” उहाँले पहिला पहिला मान्छे देख्ने वित्तिकै भाग्ने बाँदर आजकल महिला केटाकेटी मात्र देखे भने झम्टिएर आउने गरेको बताउनुभयो ।

बारीमा लगाएको मकै, गहुँ,केरा, सुपारीलगायतका मौसमी अन्नबाली र फलफूल सबैमा बाँदरले क्षति गर्दै आएको स्थानीय कुसुम गौतमले बताउनुभयो । स्थानीय क्षेत्रको चिया बगान, सामुदायिक वन र बाँसघारीलाई बासस्थान बनाएर बसेका बाँदर नखेद्ने हो भने बाँहुनडाँगीबासीले गाउँ छाडेर हिंड्नुको विकल्प नभएको उहाँको भनाई छ । 

मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष अर्जुन कार्कीले विगत पाँच बर्षदेखि बाहुनडाँगी क्षेत्रमा बाँदरले दुःख दिँदै आएको बताउनुभयो । उहाँले हाल बाहुनडाँगीमा जंगली हात्तीको आतंक भन्दा बाँदर आतंक बढी भएको बताउनुभयो । 

“हात्तीले त खेतबारीको अन्नबाली मात्र खाइदिन्थ्यो”, उहाँले भन्नुभयो, “बाँदरले त चुलोमा पकाएर राखेको भात नै खाइदिँदोरहेछ । यसको नियन्त्रणमा बारे छलफल भइरहेको छ विधि पत्ता लगाउन सकेका छैनौं ।” 

उहाँले किसानलाई थोरै भए पनि राहत उपलब्ध गराउने उद्देश्यले बन्यजन्तुबाट अन्नबालीमा पुर्याएको क्षतिको वडामा परेका निवेदनका आधारमा राहत दिँदै आएको बताउनुभयो । उहाँले किसानलाई राहत दिने उद्देश्यले नै निकट भविष्यमै बाहुनडाँगी बासीका सबै प्रकारका कृषि बालीहरुमा विमा गरिदिने सोच राखेको बताउनुभयो ।