हाम्रो मेचीनगर
हाम्रो मेचीनगर
झापा, २७ फागुन । मेचीनगरको धुलाबारीस्थित नन्दा करिडरमा पहिलोपल्ट आयोजित रैथाने खाना सम्बन्धी महोत्सव आज सुरु भएको छ ।
दनुवार, राजबंशी, मेचे र धिमाल समुदायको परम्परागत खानेकुराका विभिन्न परिकार राखिएको महोत्सवको मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गर्नुभयो ।
महोत्सवको उद्घाटन गर्दै नगरप्रमुख बुढाथोकीले पुर्खाले हजारौं वर्षको अभ्यासबाट पत्ता लगाएका रैथाने खानाहरु नयाँ पुस्ता माझ लोकिप्रय बनिरहेको बताउनुभयो ।
उहाँले रैथाने खानेकुरा मात्र होइन, पुर्खाले आर्जेका भाषा, संस्कृति र परम्पराहरुको जगेर्ना गर्न स्थानीय सरकार जहिल्यै तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विशेष अतिथिको रुपमा कार्यक्रममा नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेती र प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी उपस्थित हुनुहुन्थ्यो भने पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडा, नेपाली कांग्रेस झापा १ का क्षेत्रीय सभापति इन्द्र बुढाथोकी, वडा नं. १० का वडाध्यक्ष नारायण खनाल लगायतले कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
मन्तब्यको क्रममा वडाध्यक्ष खनालले भाषा, संस्कृति र रैथाने परिकारहरु भावी पुस्ताका लागि जोगाउनु पर्ने बताउनुभयो भने कांग्रेसका क्षेत्रीय सभापति बुढाथोकीले हिजो फोहोर फाल्ने र डढाउने डम्पिङ साइट बनाइएको नन्दा करिडरलाई स्थानीय युवाले मनमोहन पर्यटकीय करिडरको रुपमा विकास गरेकोमा प्रशंसा गर्नुभयो ।
सभामा मेचीनगरका कार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका अध्यक्ष हृदय राजबंशी, झापा खेलकुद विकास समितिका पूर्व अध्यक्ष गणेशविक्रम नेम्वाङ, धुलाबारी क्याम्पसका अध्यक्ष भीम खवास, नेपाली कांग्रेस मेचीनगरका सभापति सुदय पनेरु, नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिकी उपाध्यक्ष अम्बिका भण्डारी, कान्तिपुर दैनिककी झापा समाचारदाता रमा भण्डारी लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
आयोजक नन्दा करिडर प्रबर्धन केन्द्रका अध्यक्ष धर्मेन्द्र खड्काको अध्यक्षता र सहसचिव देबेन्द्र दाहालको उद्घोषणमा भएको उद्घाटन कार्यक्रममा आदिवासी समुदायको नृत्य प्रस्तुत गरिएको थियो ।
महोत्सवमा दनुवार, राजबंशी, मेचे र धिमाल समुदायको रैथाने खानेकुराको स्टल राखिएका छन् ।
महोत्सवका स्टल कोर्डिनेटर निरज श्रेष्ठका अनुसार महोत्सवमा मेचे समुदायको याङफारे, फेतो, सिताव र कुखुराको मासु विक्रीका लागि राखिएको छ । राजबंशीको घुँगी, पेल्का, भाक्का र माछाको झोल समेत महोत्सवको आकर्षण रहेको छ भने दनुवारको तोल, ग्यान्द्रो, चिचिरी र सुँगुरको परिकार विक्रीका लागि राखिएको छ ।
महोत्सवमा केराको बुङ्गोको अचार, गंगटाको अचार, पिठोको रोटी, न्वागी अर्थात खीर समेत राखिएको छ । स्थानीय शान्ति समाजको महिला समूहले सेलरोटी, ढिडो, फापरको फुरौला र गुन्द्रुकको अचार लगायतका शाकाहारी खानेकुरा पनि महोत्सवमा राखेको छ ।
महोत्सव बुधवारसम्म सञ्चालन हुने अध्यक्ष खड्काले जानकारी दिनुभयो । आज रैथाने खानेकुराको महत्त्व विषयमा अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता आयोजना भएको थियो ।