३० फागुन २०८१, शुक्रवार

भाइरल भाषण

डोनाल्ड ट्रम्प र लुथर किंगसँग तुलना भयो होलिबेलका आविष्कारको भाषण

३० फागुन २०८१, शुक्रवार
Image

झापा, १ चैत । मेचीनगरको धुलाबारीस्थित होलिबेल अंग्रेजी माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत् आविष्कार राउतले दिएको एउटा भाषण बहुचर्चित (भाइरल) भएको छ ।

विद्यालयको २४ औं वार्षिकोत्सव समारोहमा यही फागुन २८ गते राउतले विद्यार्थीहरुको तर्फबाट जोशिलो भाषण दिएका थिए ।

उक्त भाषण सबैभन्दा पहिला विर्तामोडको बिञ्जु मिडिया कर्नरले आफ्नो फेसबुक पेजमा प्रशारण गरेको थियो । त्यसपछि भाषण भाइरल भएको हो । उनको भाषणलाई बिञ्जु मिडिया कर्नरमा २४ घण्टामा एक लाख १९ हजारले हेरिसकेका छन् ।

भाषणमा उनको बडी ल्याङ्वेज, बोल्ने शैली, भाषा र विषयवस्तुले देश विदेशका मानिसहरुको ध्यान आकर्षित गरेको छ । अधिकांशले ‘नेपालीको यस्तो दमदार अंग्रेजी भाषण कहिल्यै नदेखिएको र नसुनिएको’ प्रतिक्रिया जनाएका छन् ।

रुटिन अफ नेपाल बन्द लगायत सामाजिक सञ्जालका पेजहरुमा उक्त भाषणको भिडियो साभार भइरहेको छ भने विदेशमा रहेका नेपालीहरुले भिडियो साझा गरिरहेका छन् । 

रुटिन अफ नेपाल बन्दले आफ्नो टाइमलाइनमा भिडियो शेयर गर्दै लेखेको छ–‘पावरफुल र बोल्ड भाषण ।’

क्यानडामा पत्रकारिता पढाइरहेका डा. भानुभक्त आचार्यले फेसबुकमा भाषणको प्रशंसा गर्दै लेखेका छन्–‘होलीबेलका भाइको अंग्रेजी सुनेर मैले आफ्नो बिर्से ।’

दमौलीका पवन पौडेलले आविष्कारको भाषण सुनेपछि कमेन्टमा लेखेका छन्–‘झापाले २० वर्षपछिको अर्को प्रधानमन्त्री तयार पारेछ ।’

कतिपयले उनको भाषणलाई कमेन्टेटर पल हेमेन, अमेरिकी अधिकारकर्मी मार्टिन लुथर किंग र अमेरिकी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषण शैलीसँग तुलना गरेका छन् ।

लक्ष्मीप्रसाद बाँस्तोला लेख्छन्–‘मलाई चाहिँ भाइको भाषण मार्टिन लुथर किंगको आइ ह्याभ अ ड्रिम जस्तै लाग्यो । ’

विद्यालयका निर्देशक अभिषेक प्रधानले आविष्कार राउत अहिले १६ वर्षको भएको र उनले सानैदेखि वक्तृत्वकला (भाषण)मा रुचि राख्ने गरेको बताए ।

‘उनले रटेर बोलेको होइन यो,’ निर्देशक प्रधान लोकतन्त्र पोस्टसँग भन्छन्–‘उनी ज्यादै स्मार्ट, अध्ययनशील र पढाइमा अब्बल विद्यार्थी हुन् ।’

मेचीनगर वडा नं. १० मा उनको घर छ । विद्यालय मेचीनगर वडा नं. ९ मा रहेको छ । विद्यालयमा ८०० भन्दा बढी विद्यार्थी छन् ।

राउतले यसैवर्ष मेचीनगर प्याब्सनले आयोजना गरेका आकस्मिक वक्तृत्वकला प्रतियोगितामा प्रथम भएर पुरस्कार पाएका थिए । 

उनमा समाज, शिक्षा, वातावरण र भूराजनीति सम्बन्धी निकै ठूलो ज्ञान रहेको विद्यालयका निर्देशक प्रधान बताउँछन् । उनी भन्छन् –‘नेचुरल स्पीकर हुन् उनी । सुगा रटाइ गर्नै पर्दैन ।’

भाषणमा उनले देश विकास कसरी गर्न सकिन्छ, भ्रष्टाचारले कसरी विगारिरहेको छ, युवाको भूमिका के हुनुपर्छ लगायतका विषयमा दमदार प्रस्तुति दिएका छन् ।

विद्यार्थीको भाषण सकारात्मक रुपमा भाइरल भएपछि विद्यालय परिवारमा खुशीको माहौल छ ।

भाषण यहाँ क्लिक गरेर हेर्नुहोला