३ चैत २०८१, सोमवार

तीन दिनदेखि झापामा के गर्दै हुनुहुन्छ विप्लब ?

२ चैत २०८१, आइतवार
Image

झापा, ३ चैत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लब’ तीन दिनदेखि झापामा हुनुहुन्छ ।

पार्टीका झापा इञ्चार्ज सुमन सीका अनुसार चैत १ गते काठमाडौंबाट चन्द्रगढी विमानस्थल ओर्लनु भएको महासचिव विप्लबले झापामा पार्टी कार्यकर्ता, अग्रगामी जनसमुदाय र मित्रशक्तिहरुसँगको भेटघाट तीब्र बनाउनु भएको छ ।

‘पछिल्लो समय झापा जिल्ला राजनीतिक चलखेलको केन्द्र जस्तो बनिरहेको बेला गणतन्त्रको रक्षा र जनजीविकाको सवालहरुमा छलफल गर्न महासचिव कमरेड आउनु भएको हो’– इञ्चार्ज सुमन सीले भन्नुभयो ।

सामान्य अन्तरक्रियात्मक शैलीमा उहाँका भेटघाट र छलफलहरु भइरहेको बताइएको छ । इञ्चार्ज सुमन सीकै भनाई अनुसार गणतन्त्रका पक्षधर अग्रगामी शक्ति र जनसमुदायसँग महासचिव विप्लबको घनिभूत छलफल भइरहेको छ ।

पछिल्लो समय राजाबादीहरुको चलखेल झापामा बढेको र यहीबाट प्रतिगमनको चलखेल भइरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुझाई छ । प्रतिगमनकारी षडयन्त्रको विरुद्ध र अग्रगमनको पक्षमा माहोल बनाउन समेत विप्लब झापामा आउनु भएको बताइएको छ ।

विप्लबले भद्रपुरस्थित मेची नदी पारिको नेपाली बस्ती पुगेर त्यहाँका बासिन्दासँग अन्तरक्रिया गर्नु भएको छ । चन्द्रगढी विमानस्थलमा ओर्लिएका बेला पार्टीका किरात लिम्बुवान इञ्चार्ज दिपेश सी, जिल्ला इञ्चार्ज सुमन सी लगायतका नेताहरुले महासचिव विप्लबको स्वागत गर्नु भएको थियो ।

उहाँ कम्तीमा चैत ६ गतेसम्म झापामा रहने र चैत ६ गते विर्तामोडमा पत्रकार सम्मेलन हुने बताइएको छ । चैत १२ गते पार्टीले झापाबाट कञ्चनपुरसम्म सञ्चालन गर्ने जनजागरण मार्चको उहाँले नै उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।