झापा, ३ चैत । मेचीनगर वडा नं. ७ को एउटा उद्योगबाट उत्पादित मन्सुली चामलमा प्लास्टिक जस्तो बस्तु मिसावट भएको एक उपभोक्ताले दावी गरेका छन् ।
मेचीनगर वडा नं. १० निवासी पदम राजबंशीले फागुन २८ गते धुलाबारी मोडको किराना पसलबाट ३० केजीको एक बोरा मन्सुली चामल किन्नु भएको थियो ।
स्थानीय नजरलाल राजबंशी (पदम राजबंशीका बुवा)ले इलाका प्रहरी कार्यालय धुलाबारीमा चामलमा प्लास्टिकजन्य मिसावट फेला परेको हुँदा अनुसन्धान गरिपाउँ भनेर आज उजुरी दिनु भएको छ ।
उक्त चामल राधाकृष्ण इन्डस्ट्रिजबाट उत्पादित हो । राजबंशीले चामलको पिठो बनाएर चाल्दा प्लास्टिकका त्यान्द्रा धेरै मात्रामा भेटिएको र तावामा चामल तताउँदा धुँवासँगै प्लास्टिकको गन्ध आएको बताउनु भएको छ ।
स्थानीय अनुसन्धान टेलिभिजनका सम्पादक खगेन्द्र खरोले आफ्नो मिडियाबाट यो खबर बाहिर ल्याउनु भएको हो । उहाँले यूट्युब र फेसबुकमा प्रशारण गरेको भिडियो रिपोर्टमा मेची उद्योग वाणिज्य संघका पदाधिकारीहरुले समेत चामलमा प्लास्टिक मिसिएको जस्तो देखिएको हुँदा छानविन कार्वाही हुनुपर्ने प्रतिक्रिया दिनु भएको छ ।