चामलमा प्लास्टिक मिसावट
चामलमा प्लास्टिक मिसावट
शिलबन्दी गर्दै सरकारी अधिकृत पोखरेल ।
झापा, ३ चैत । मेचीनगरका एक उपभोक्ताले चामलमा प्लास्टिक मिसावट भएको दावीका साथ प्रहरीमा दिएको उजुरीका आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरले छानविन थालेको छ ।
मेचीनगर वडा नं. १० का नजरलाल राजबंशीले आज इलाका प्रहरी कार्यालय धुलाबारीमा उजुरी दिनु भएको थियो । उजुरी लगत्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले एक जना अधिकृतलाई छानविन गर्न धुलाबारी खटाएको हो ।
मिसावट भएको चामल मेचीनगर–७ इटाभट्टाको राधाकृष्ण इन्डस्ट्रिजबाट उत्पादित उज्यालो ब्रान्डको मन्सुली चामल हो । मेचीनगर–१० स्थित एक किराना पसलबाट राजबंशी परिवारले चामल किनेर लगेका थिए ।
डिभिजन कार्यालयबाट खटिएका खाद्य निरीक्षण अधिकृत सागरराज पोखरेलले स्थानीय जनप्रतिनिधि, प्रहरी, उपभोक्ता अधिकारबादी, व्यवसायी र पत्रकारको रोहवरमा किराना पसलबाट उज्यालो ब्रान्डको चामलको बोरा खोलेर दुई केजी चामल शिलबन्दी गरेर खाद्य परीक्षणका लागि लगेका छन् ।
उक्त चामलको नमुनालाई विराटनगरस्थित प्रादेशिक खाद्य प्रयोगशाला पठाइने पोखरेलले बताए । प्रयोगशालाबाट जाँच रिपोर्ट आएपछि यस विषयमा थप कार्वाही अघि बढाइने उनले बताए ।
किराना पसलका सञ्चालकले आफुले राधाकृष्ण इन्डस्ट्रिजबाट उत्पादित चामल बोरामा प्याक भएर आउने हुँदा मिसावट बारेमा आफुलाई कुनै जानकारी नहुने बताएका छन् ।
डिभिजन कार्यालयले जाँचको रिपोर्ट नआउञ्जेल मिसावट भएको दावी गरिएको चामल विक्री नगर्न उक्त पसललाई निर्देशन दिएको छ ।