झापा, ३ चैत । लोकतन्त्र पोस्टका प्रधान सम्पादक मोहन काजीलाई यसवर्षको ‘मार्सेली उपभोक्ता सचेतना पुरस्कार’ प्रदान गरिने भएको छ ।
उपभोक्ता अधिकारका क्षेत्रमा लामो समयदेखि नेतृत्व गरिरहनु भएको कृष्णप्रसाद भण्डारी मार्सेलीले विराटनगरस्थित राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थामा अक्षयकोषसहित उक्त पुरस्कारको स्थापना गर्नु भएको हो ।
सहकारी संस्थाले आज विराटनगरमा एक कार्यक्रम गरी उक्त पुरस्कार बारे जानकारी गराएको हो । उपभोक्ताको हक, हित र अधिकारका पक्षमा योगदान पुर्याए पहिलोपल्ट यो पुरस्कार पत्रकार काजीलाई दिने निर्णय भएको पुरस्कारका संस्थापक मार्सेलीले बताउनुभयो । उपभोक्ता हितका क्षेत्रमा नेपालमा स्थापना भएको यो पहिलो पुरस्कार हो ।
मेचीनगर वडा नं. १० निवासी पत्रकार काजी उपभोक्ता जागरण अभियान नेपालका अभियन्ता हुनुहुन्छ । विश्व उपभोक्ता अधिकार दिवसका दिन पारेर आगामी साउन ४ गते पुरस्कार हस्तान्तरण गरिने राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीवन काफ्लेले बताउनुभयो ।
सहकारीद्वारा आज आयोजित कार्यक्रममा पुरस्कृत व्यक्तिको घोषणसँगै अधिकारकर्मी मार्सेलीद्वारा सम्पादित जागरण अभियान नामक वार्षिक स्मारिकाको नवौं अंकको लोकार्पण समेत गरिएको थियो ।
सहकारीको सभाकक्षमा भएको कार्यक्रमको अध्यक्षता सहकारीका अध्यक्ष काफ्लेले गर्नु भएको थियो भने स्मारिकाको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि साहित्यकार बलराम पोखरेलले गर्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन सहकारीका सचिब ओम सुवेदी र स्वागत सहकारीका उपाध्यक्ष तुलसी नारायण अधिकारीले गर्नुभएको थियो । सो अवसरमा मार्सेलीले स्मारिका र पुरस्कारका सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा अधिकारकर्मी मणि अर्याल, प्राध्यापक कविराज न्यौपाने, बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख हितेश बस्नेत र कोशी प्रदेश सामाजिक बिकास मन्त्रालयकी महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले मन्तव्य राख्दै उपभोक्तामा जागरण ल्याउन पुरस्कारले प्रेरणा प्रदान गर्ने बताउनु भएको थियो ।