१९ चैत २०८१, बुधवार

गर्दा हुँदोरहेछ

सम्झौताको म्यादभन्दा एक वर्ष अगावै बन्यो सडक

४ चैत २०८१, मङ्गलवार
Image

निर्माणाधीन अवस्थाको फोटो ।

झापा, ५ चैत  निर्माण व्यवसायीहरुलाई ठेक्काको काममा प्रायः ढिलासुस्ती गरेको आरोप लाग्ने गर्छ । तर, मेचीगनरको शान्ति उद्देश्य निर्माण सेवाले विर्तामोडको छ वटा सडक र एउटा सामुदायिक भवन तोकिएको म्यादभन्दा एक वर्ष अगावै निर्माण सम्पन्न गरेर प्रशंसा पाएको छ ।

महिला नगरप्रमुख भएको कारण सघन सहरी विकास मंत्रालयले विर्तामोडलाई छ वटा सडक स्तरोन्नति र एउटा सामुदायिक भवन परियोजनाका लागि चालू आर्थिक वर्षमा थप बजेट बिनियोजन गरेको थियो ।

सातै वटा परियोजनाको नगर प्रमुख पवित्रा महतारा प्रसाईले गत वि.सं. २०८१ भदौ २० गते एकमुष्ठ शिलान्याश गर्नु भएको थियो । शान्ति उद्धेश्य निर्माण सेवाले भ्याटबाहेक रु. छ करोड ३१ लाखमा उक्त निर्माण कार्यको ठेक्का लिएको थियो । 

वि.सं. २०८१ असार २० गते निर्माण सम्झौता भएको थियो भने भदौबाट कम्पनीले काम थालेको थियो । 

सम्झौता अनुसार वि.सं. २०८२ फागुन १९ गतेसम्ममा निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने थियो । तर, तोकिएको अवधिभन्दा एक वर्ष अगावै सम्पूर्ण निर्माण कार्य सम्पन्न भएको छ । 

नगरपालिकाका कार्यवाहक नगरप्रमुख नगेन्द्र संग्रौलाका अनुसार ती सात वटै सडक निर्माण सम्पन्न भएका छन् । कालोपत्रे गरिएका ती सडकले वडा नं. १, २, ३ र ८ का बासिन्दालाई यातायातमा सुविधा पुगेको छ । 

वडा नं. १ को लोकतान्त्रिक मार्गमा एक किलोमिटर २४० मिटर र अतिथि सदन मार्गमा ९२५ मिटर, वडा नं. २ को बानालाल मार्गमा एक किलोमिटर र वडा नं. ३ को करेलाबारी मार्गमा एक किलोमिटर २४० मिटर सडक कालोपत्रे सम्पन्न भएको संग्रौलाले बताउनुभयो ।

वडा नं. ८ को कटहरडाँगी मार्गमा एक किलोमिटर २४० मिटर र हरिहर आश्रम मार्गमा एक किलोमिटर २४० मिटर सडक कालोपत्रे कार्य सम्पन्न भइसकेको छ । सोही बजेटबाट वडा नं. ६ को हरियाली सामुदायिक बनमा एउटा सुविधासम्पन्न सामुदायिक भवन निर्माण भएको छ ।

निर्माण कम्पनीका सञ्चालक नयन बरालले योजना सञ्चालनका बेला जनप्रतिनिधिहरुबाट भएको सक्रिय साथका कारण थोरै अवधिमा गुणस्तरीय कार्य हुन सकेको बताउनु भयो ।