१९ चैत २०८१, बुधवार

एसियन हाइवे

यस्तै ‘कछुवा गति’ले तिरासीको माघमा बनिसक्ला एसियाली राजमार्ग ?

९ चैत २०८१, आइतवार
Image

झापा, १० चैत । एसियाली राजमार्ग अन्तर्गत काँकडभिट्टादेखि पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्त गतिमा भइरहेको छ ।

एशियाली विकास बैंकको सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले ठेक्कामार्फत उक्त खण्डमा सडकलाई एसियाली राजमार्गको रुपमा स्तरोन्नति गरिरहेको छ । एभ्रास्कन कालिका जेभीले निर्माणको ठेक्का पाएको छ ।

काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) दमक कार्यालयका आयोजना प्रमुख ई. सुनिलबाबु पन्तले हालसम्ममा सडक स्तरोन्नतिको प्रगति १५ प्रतिशत मात्र रहेको बताउनुभयो । उहाँका अनुसार निर्माणको अवधिको आधारमा हालसम्ममा २० प्रतिशतभन्दा धेरै प्रगति भइसक्नु पर्ने थियो ।

एभ्रास्कन कालिका जेभीले उक्त सडक खण्डको निर्माणका लागि वि.सं. २०८० कार्तिक २ गते सरकारसँग सम्झौता गरेको थियो भने वि.सं. २०८३ माघ १९ गतेसम्ममा निर्माण कार्य सम्पन्न हुनुपर्ने सम्झौतामा उल्लेख छ । 

आयोजनाका प्रमुख पन्तले ठेक्का लिएको कम्पनीलाई निर्माण कार्यमा गति बढाउन र लक्ष्य भेटाउन निर्देशन दिइएको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले वि.सं. २०८१ जेठ ९ गते कमल गाउँपालिकाको पाडाजुँगीमा उक्त सडकको विधिवत् शिलान्यास गर्नु भएको थियो ।

सडक निर्माण सम्झौताको पहिलो वर्षमा १२ प्रतिशत मात्र प्रगति भएको र यसवर्ष पनि उल्लेखनीय प्रगति हुन नसकेमा आउँदो एक वर्ष १० महिनाभित्रमा आयोजना सम्पन्न गर्न कठिन हुनेछ । 

“अहिले काम गर्नका लागि मौसम अनुकूल पनि छ”, एभ्रास्कन कालिका जेभीलाई कामको गति बढाउन दबाब दिँदै पन्तले भन्नुभयो, “निर्माण कम्पनीले जुन रफ्तारमा काम गर्नुपर्ने हो, गरेको छैन । हामीले दबाब दिइरहेका छौं ।”

हाल कल्भर्ट, पुल र माटो भर्ने काम भइरहेको छ । हालसम्म १४३ वटा कल्भर्ट मध्ये ९३ वटा कल्भर्टको काम भएको छ । साना पुलहरु १८ वटामध्ये १७ वटाको निर्माण भइरहेको छ । निर्माण कार्यमा कम्पनीले अत्याधुनिक उपकरण समेत प्रयोग गरिरहेको छ । हालसम्ममा पुलको निर्माण प्रगति १३ प्रतिशत मात्र छ । 

एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारसँगको साझेदारीमा रु. ३४ अर्ब ९० करोडमा सडकसहित कल्भर्ट र साना पुलको ठेक्का लगाइएको हो । कनकाई, बिरिङ र निन्दा खोलाका पुलको ठेक्का अर्कै कम्पनीले पाएको छ ।

बर्खा लागेपछि काम गर्न कठिन हुने भएकाले त्यसअघि कामको गति बढाउन निर्देशन दिइएको काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) दमक कार्यालयका प्रमुख पन्त बताउनुहुन्छ । चालू आर्थिक वर्षमै कम्तीमा १० किलोमिटर राजमार्ग कालोपत्रे गर्ने आयोजनाको लक्ष्य रहेको छ । 

सो सडक खण्डको चारआली जंगलमा ‘इलिफेन्ट अन्डर पास’को निर्माण कार्य समेत धमाधम भइरहेको आयोजनाले जनाएको छ । नेपाल सरकारको बन्यजन्तु मैत्री पूर्वाधार भौतिक संरचना निर्माण मापदण्ड अनुसार ‘इलिफेन्ट अन्डर पास’ निर्माण भइरहेको आयोजना प्रमुख पन्तले जानकारी दिनुभयो । 

उहाँका अनुसार ‘इलिफेन्ट अन्डर पास’ साढे छ मिटर उचाई र १५ मिटर लम्बाईको बनिरहेको छ । जुन निर्माणाधीन सडकभन्दा डेढ मिटर अग्लो हुनेछ ।