१९ चैत २०८१, बुधवार

बैभव भेनियरमा आगलागीबाट तीन करोडको क्षति

९ चैत २०८१, आइतवार
Image

झापा, १० चैत । मेचीनगर–१४ स्थित बैभव भेनियर उद्योगमा आगलागीबाट लगभग रु. तीन करोडको क्षति भएको उद्योगले जनाएको छ ।

शनिवार विहान ११ः२५ बजेतिर श्रमिक बस्ने आवास क्षेत्रबाट विद्युत सर्ट भएर निस्किएको आगो उद्योग परिसरमा अनियन्त्रित भएर फैलिएको उद्योगका सञ्चालक आनन्द खड्काले बताउनुभयो । 

अचानक फैलिएको आगोले श्रमिक आवाससँगै छेउमा भण्डारण गरिएको ३० ट्रकभन्दा बढी तयारी भेनियर जलेर खरानी भएको छ । 

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले जिल्लाका छ वटा दमकलको सहायताले आगो निभाएको थियो । आगो निभाउन मेचीनगर, भद्रपुर, विर्तामोड, कमल र दमकबाट दमकल घटनास्थलमा आएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

दश बिगाहा क्षेत्रफलमा फैलिएको उक्त भेनियर उद्योगमा ५५ जना स्थायी र ४५ जना अस्थायी श्रमिक कार्यरत छन् । यहाँबाट उत्पादित भेनियर पत्ता भारत निर्यात हुने गरेको थियो ।

आगलागी सुरु हुनासाथ स्थानीय कामदारले मोटरबाट पानी तानेर आगो निभाउन प्रयास गरेका थिए । तर, सुख्खा भेनियरमा सल्किएको आगो छिटो अनियन्त्रित भएको थियो ।

आगलागी नियन्त्रणका लागि चारआलीस्थित नेपाली सेनाको अरिदमन गणबाट उप सेनानी रुपक राउतको नेतृत्वमा ३५ जना नेपाली सेनाको टोली, सीमा सुरक्षा गुल्म काँकरभिट्टाका सशस्त्र प्रहरी निरीक्षक रोशन घिमिरेको नेतृत्वमा १७ जना सशस्त्र प्रहरीको टोली र इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीको नेतृत्वमा १५ जना प्रहरीको टोली परिचालित भएको थियो ।