१९ चैत २०८१, बुधवार

सिद्धीखोला चुनावमा दुई मितको भिडन्त

१२ चैत २०८१, बुधवार
Image

झापा, १३ चैत । बाहुनडाँगीमा यतिबेला खानेपानीको चुनावले छपक्कै छोपेको छ । 

यहि चैत १६ गते बाहुनडाँगी सिद्धिखोला एकीकृत खानेपानी सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि उम्मेदवारहरु प्रचारप्रसारमा व्यस्त छन् । त्यहि चुनावी मैदानमा रहेका दुई अध्यक्षका उम्मेद्वारहरु पासाङ तामाङ र हेमलाल गुरागाई भने नाताले मित छन् । 

गुरागाई कांग्रेस, राप्रपा र लिम्बुवान गठबन्धनबाट उम्मेद्वार बन्नु भएको छ भने तामाङ नेकपा एमालेबाट । नेकपा माओबादी केन्द्रबाट मेघराज खड्का उम्मेद्वार बन्नु भएको छ ।

यी दुईको मितेरी साइनो पनि रमाइलो किसिमकै छ । दुवैको ससुराली शान्तिनगर हो । २०४३ सालमा हेमलाल गुरागाईले विवाह गर्नु भयो भने २०४४ सालमा पासाङ तामाङले । त्यो बेलासम्म उहाँहरु छिमेकी हुनुहुन्थ्यो । जब दुबैको विवाह भयो अनि थाहा भयो उहाँका श्रीमतीहरु मितिनी रहेछन् । त्यसपछि हिजोसम्मको दाजुभाइको सम्बन्ध विवाह पछि एक्कासी मितेरी साइनोमा परिणत भयो । 

मेचीनगर वडा नं. १ का बासिन्दा यी दुई मितको घर ५ सय मिटरको वरपर छ । यस वडामा हुने हरेक निर्वाचनमा मितहरु प्रतिस्पर्धी हुँदै आएका छन् ।  

कांग्रेस नेतृत्वको राप्रपा र लिम्बुवानको समूहबाट अध्यक्षमा गुरागाई र उपाध्यक्षमा कांग्रेसकै सागर कार्की उम्मेद्वार हुनुहुन्छ । त्यसैगरी सचिवमा राप्रपाका सन्तोस सुवेदी, सहसचिवमा राप्रपाकै राजन न्यौपाने र कोषाध्यक्षमा कांग्रेसका पूर्णिमा कट्टेल उम्मेद्वार हुनुहुन्छ । यो समूहबाट दुई जना कार्यसमिति सदस्यमा लिम्बुवानका तर्फबाट उम्मेद्वार रहेका छन् ।

एमालेबाट पासाङ तामाङको टिममा उपाध्यक्ष पुष्कर घिमिरे, सचिवमा गोपाल विश्वकर्मा, कोषाध्यक्षमा पुष्पकुमारी घिमिरे बिष्ट र सहसचिवमा सुरेश घिमिरे उम्मेद्वार हुनु भएको छ ।  

नेकपा माओवादी केन्द्रले मेघराज खड्कालाई अध्यक्षको उम्मेद्वार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि सचिव मात्रै चुनावी मैदानमा उतारेको छ । रास्वपाका तर्फबाट सविचमा राजन कार्कीलाई उम्मेद्वार हुनु भएको छ ।

लेखकको बारेमा
Image
देबु बानियाँ

सामाजिक विषयमा कलम चलाउन रुचि राख्ने मेचीनगरका देबु बानियाँ डेढ दशकदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ ।