झापा, १४ चैत । पर्यटक आगमन वृद्धिका लागि पूर्वीनाकाहरुलाई व्यवस्थित गर्न सरोकारवालाहरुले सरकारलाई सुझाव दिएका छन् ।
कोशी पर्यटन वर्ष २०८२ को सन्दर्भमा बुधवार मेचीनगरको काँकडभिट्टामा आयोजित सर्वपक्षीय छलफल कार्यक्रमका सहभागीले पर्यटकीय प्रवेशद्वारको रुपमा रहेका नाकाहरुको अवस्था अस्तब्यस्त रहेको गुनासो गरे ।
सरोकारवालाहरुले पूर्वीनाकामा मुलुकको पर्यटकीय स्थलहरुको चिनारी झल्काउने होर्डिङ बोर्डहरु नराखिएको, यातायात क्षेत्रमा यात्रु तानातानको बेथिति नहटेको, सिटी रिक्साले मेची पुलमा दिनहुँ जाम गर्दै आएको, पर्यटकले नाकामा अनावश्यक शुल्क तिर्नु परेको, पर्यटक प्रहरी पर्याप्त नभएको लगायत पूर्वीनाका पर्यटकमैत्री नभएको गुनासो औल्याए।
मेचीनगर होटल व्यवसायी संघका अध्यक्ष सुरेश गोपाल श्रेष्ठले पूर्वी नाका काँकडभिट्टा पर्यटकमैत्री नभएको बताउनुभयो । “एउटा पर्यटक मेची पुलबाट होटलसम्म आउनु पर्यो भने चार वटा सिटी चढ्नु पर्ने अवस्था छ,” उहाँले भन्नुभयो–“नेपाली भूमि टेक्ने बित्तिकै पर्यटकका झञ्झटका दिन सुरु हुन्छन् । अनि कसरी बढ्छन् पर्यटक ?”
मेची पुलमा तस्करीका सामान ओसारपसार गर्ने व्यक्तिहरुले आवागमन नै सकसपूर्ण बनाउने गरेको र सिटी रिक्साको जामले पर्यटकहरु दिक्दार हुने गरेको होटल व्यवसायी श्रेष्ठले बताउनुभयो ।
ट्राभल व्यवसायी नीरबहादुर कार्कीले कछुवा गतिमा निर्माण भइरहेको एसियाली राजमार्गको धुलाम्य अवस्था समेत पर्यटक आगमनका लागि बाधक बनिरहेको बताउनुभयो ।
बंगलादेश, भुटान, म्यानमार र भारतका थुप्रै प्रान्तहरुबाट नेपाल प्रवेश गर्ने नाका नै काँकडभिट्टा भएकाले पूर्वीनाकाको सौन्दर्यकरण, सरसफाई र पर्यटकमैत्री वातावरण निर्माणमा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको ध्यान आकृृष्ट हुनुपर्ने उहाँको धारणा थियो ।
ग्रामीण पर्यटन अभियन्ता एवम् मेचीनगर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष अर्जुन कार्कीले पर्यटकलाई सत्कार गर्ने संस्कारको विकास अझै हुन नसकेको बताउनुभयो । उहाँले पनि पूर्वीनाकालाई सहज र व्यवस्थित तुल्याउन सक्दा पर्यटक आकर्षित हुने धारणा व्यक्त गर्नुभयो ।
पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडाले समग्र पर्यटन क्षेत्रको विकास र प्रवर्धन गर्ने, स्थानीय रोजगारी सिर्जना गरी राष्ट्रिय पूँजी निर्माणमा सहयोग गर्ने र स्वच्छ, सुखी र समुन्नत प्रदेशको दीर्घकालीन सोच हासिल गर्न सहयोग गर्ने पर्यटन वर्षको मुख्य लक्ष्य रहेको बताउनुभयो ।
कोशी पर्यटन वर्ष २०८२ का निर्देशक समितिको आयोजना र पर्यटन कार्यालय काँकडभिट्टाको संयोजकत्वमा भएको उक्त छलफल कार्यक्रममा बोल्दै समितिका सहसंयोजक भविषकुमार श्रेष्ठले यही चैत २७ गते तेह्रथुमको तीनजुरे मिल्के लालीगुराँश क्षेत्रमा पर्यटन वर्षको उद्घाटन हुने बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रमको उद्घाटन गर्नुहुने र प्रदेशका विभिन्न जिल्लामा वर्षैभर पर्यटन वर्ष लक्षित अभियान र कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।
उहाँले पर्यटन वर्ष सरकारको मात्र नभई सम्पूर्ण कोशी प्रदेशबासीको साझा चासो र सरोकारको विषय भएको जनाउँदै यसलाई सफल बनाउन आह्वान गर्नुभयो ।