१८ चैत २०८१, मङ्गलवार

हाम्रो मेचीनगर

देउसीको रकमले गाउँमा सीसी क्यामेरा जडान गर्दै चेतनशील

१३ चैत २०८१, बिहिवार
Image

झापा, १४ चैत । चेतनशील युवा परिवारले देउसी भैली खेलेर बचत गरेको रकमले गाउँमा सीसी क्यामेरा जडान गर्ने भएको छ ।

परिवारका उपाध्यक्ष धर्मेन्द्र खड्काका अनुसार मेचीनगर वडा नं. १० को खयरडाँगीमा तीन वटा सीसी क्यामेरा जडान कार्य सुरु गरिएको बताउनुभयो ।

देउसीबाट रु. एक लाख संकलन भएको र त्यसमा थपथाप पारेर सीसी क्यामेरा जडान गरिने उहाँले जानकारी दिनुभयो ।

धुलाबारीबाट ज्यामिरगढी जाने सहिद मार्गमा आजदेखि जडान कार्य थालिएको हो । शान्तिचोक, केपी शिवाकोटीको घरछेउको चोक र शिशु साक्षर आधारभूत विद्यालय छेउमा क्यामेरा जडान गरिने भएको छ ।

सीसी क्यामेरा जडानपछि खयरडाँगीको शान्ति सुरक्षा कायम गर्न र अबैध गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।  

‘देउसीबाट उठेको रु. एक लाखले मात्र तीन वटा सीसी क्यामेरा जोड्न रकमले भ्याउँदैन,’ उपाध्यक्ष खड्काले भन्नुभयो–‘राम्रो काममा आर्थिक सहयोग गरिदिन स्थानीय उद्योगी व्यापारीहरुलाई हामी अनुरोध गर्दछौं ।’