झापा, १४ चैत । गणतन्त्र र राजतन्त्रको पक्षमा भन्दै शुक्रवार काठमाडौंमा अलग अलग शक्ति प्रदर्शन हुने भएको छ ।
नेकपा माओबादी केन्द्रको अगुवाईमा समाजबादी मोर्चाले गणतन्त्रको पक्षमा र राष्ट, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईको नेतृत्वमा राजतन्त्रको पक्षमा शक्ति प्रदर्शन हुन लागेको हो ।
काठमाडौंमा एकैदिन दुई विपरीत राजनीतिक शक्तिको प्रदर्शन हुँदा कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा सतर्कता उच्च बनाइएको छ ।
गृह मन्त्रालयले दुबै शक्तिलाई र्याली र सभाका लागि अलगअलग रुट निर्धारण गरिदिएको छ । मानवाधिकार आयोगले समेत सुरक्षामा कुनै चुक हुन नदिन आग्रह गरेको छ ।
राजसंस्था पुनस्र्थापनाको एजेन्डा लिएर सडक आन्दोलन गरिरहेका राजाबादीहरुको जनान्दोलन निर्देशक समितिले कमान्डरको जिम्मेवारी राजाबादी अभियन्ता दुर्गा प्रसाईलाई दिएको बताइएको छ ।
समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै प्रसाईंलाई कमान्डरको जिम्मेवारी दिइएको जानकारी दिनुभयो ।
राजावादीको प्रदर्शनका लागि काठमाडौं प्रशासनले तिनकुनेको स्थान छुट्याएको छ भने गणतन्त्रबादीहरुलाई भृकुटी मण्डपको स्थान तोकेको छ ।