४ वैशाख २०८२, बिहिवार

चिया व्यवसायीहरुको प्रश्न : निर्यात सहजिकरणमा प्रधानमन्त्रीले नै कहिलेसम्म फोन गरिरहनु पर्ने ?

२५ चैत २०८१, मङ्गलवार
Image

झापा, २६ चैत । झापाका व्यवसायी अगुवाहरुले भारततर्फ चिया निर्यातमा पटकपटक अवरोध भइरहने परिस्थितिको दीर्घकालीन समाधान खोज्नु पर्ने बताएका छन् ।

सोमवार झापा आएको संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिसँगको अन्तरक्रियामा व्यवसायीहरुले चिया निर्यातको समस्या बारे ध्यानाकर्षण गराएका हुन् ।

नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले वर्षेनी चिया निर्यात गर्ने बेलामा भारतले विभिन्न बहानामा अवरोध पुर्याउने गरेको बताउनुभयो ।

“कहिले गुणस्तरको कुरा र कहिले के कुरा गर्दै भारतले रोक्छ,” उहाँले भन्नुभयो–“अनि हामी प्रधानमन्त्रीलाई भेट्न जान्छौं । प्रधानमन्त्रीज्यूले फोन गरेपछि बल्ल निर्यात खुल्छ ।”

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका पूर्व अध्यक्ष टिकाराज ढकालले चिया, अलैची, अदुवा, अम्लिसो लगायतका उत्पादन नेपालको प्रमुख निर्यात बस्तु भएकाले सरकारले यसको व्यापार सहजिकरणमा गम्भीर ध्यान दिनु पर्ने बताउनुभयो ।

झापा उद्योग संघका यामबहादुर श्रेष्ठले चिया निर्यातमा भारतको अवरोध सँधैका लागि हटाउने उपाय खोज्न सरकारलाई आग्रह गर्नुभयो ।

उपभोक्ता जागरण अभियान नेपालका झापा केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी, अभियानका झापा अध्यक्ष शालिकराम भट्टराई, नारी सञ्चार गृह झापाकी पूर्व अध्यक्ष सावित्रा दाहाल, राष्ट्रिय उपभोक्ता संरक्षण समितिकी जिल्ला सदस्य विमला भट्टराई, मेची उद्योग वाणिज्य संघका उपाध्यक्ष भूमि पौडेल लगायतले अन्तरक्रियामा झापाको उद्योग, श्रम र उपभोक्ता हितका विषयमा धारणा राख्नु भएको थियो । सहभागीहरुले झापाको सुपारी निकासी नरोक्न सुझाव दिएका थिए । 

संसदीय समितिको टोलीका संयोजक लालप्रसाद (एलपी) साँवाको प्रमुख आतिथ्यमा भएको कार्यक्रम प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका नगरप्रमुख मेगाहाङ, मेचीनगरकी उपप्रमुख मीना उप्रेती, विर्तामोडका उपप्रमुख नगेन्द्र संग्रौला लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

संसदीय अनुगमन टोलीमा सांसद्हरु डोलप्रसाद अर्याल, कान्तिका सेजुवाल, रुक्मिणी बराइली र सीता मिजारको उपस्थिति रहेको थियो ।