२ वैशाख २०८२, मङ्गलवार

स्वास्थ्य बिमा

सबैभन्दा धेरै बिमित भएको जिल्ला झापा

२६ चैत २०८१, बुधवार
Image

झापा, २७ चैत । नेपाल सरकारले सामाजिक सुरक्षा अन्तर्गत सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा झापा मुलुककै सबैभन्दा बढी संख्यामा सहभागी (बिमित) भएको जिल्ला बनेको छ ।

स्वास्थ्य विमा बोर्ड सम्पर्क कार्यालय झापाकी संयोजक लक्ष्मी कँडेलले झापामा सात लाख ६२ हजार ६८६ जना बिमित रहेको बताउनुभयो । 

स्वास्थ्य विमा बोर्डका अनुसार देशभरमा ८९ लाख ६७ हजार ७९० जना विमित छन् । झापापछि बिमित धेरै रहेको जिल्लामा मोरङ (दोस्रो), सुनसरी (तेस्रो) र चितवन (चौथो) रहेका छन् । मोरङमा छ लाख एक हजार ४२९ जना, सुनसरीमा पाँच लाख ७५ हजार ६९५ जना र चितवनमा पाँच लाख ६५ हजार ७१० जना बिमित छन् ।

उहाँले झापामा कूल जनसंख्याको ६९ दशमलव ६७ प्रतिशत स्वास्थ्य विमा कार्यक्रममा आवद्ध रहेको जानकारी दिनुभयो । पन्ध्र पालिका रहेको जिल्लामा हालसम्म सबैभन्दा बढी विमितको संख्या दमक नगरपालिकामा रहेको छ भने कम संख्या झापा गाउँपालिकामा रहेको छ । 

दमकमा एक लाख ११ हजार ८० जना अर्थात त्यहाँको जनसंख्याको १०३ प्रतिशत विमित रहेको संयोजक कँडेलले जानकारी दिनुभयो । भूटानी शरणार्थी र घर भाडामा बस्नेहरु समेतको बिमा भएको हुँदा दमकमा नगरको जनसंख्या भन्दा धेरै बिमित रहेको उहाँले बताउनुभयो । 

सबैभन्दा थोरै बिमित रहेको झापा गाउँपालिकामा १४ हजार ९७४ जना स्वास्थ्य बिमा कार्यक्रममा सहभागी छन् । यहाँको जनसंख्याको तुलनामा विमितको संख्या ३८ प्रतिशत मात्र रहेको छ । 

यसैगरी, अर्जुनधारा नगरपालिकामा ४९ हजार ७६९, भद्रपुरमा ५५ हजार ८३, बाह्रदशी गाउँपालिकामा २० हजार ३२७, विर्तामोडमा ८१ हजार ९४९, बुद्धशान्ति गाउँपालिका ३८ हजार ६४७ र गौरादह नगरपालिका ४६ हजार ९३१ जना विमित भएका छन् । 

गौरीगञ्ज गाउँपालिकामा १९ हजार ४१०, हल्दिबारीमा २५ हजार ९, कचनकवल गाउँपालिकमा २६ हजार २६७, कमल गाउँपालिकामा ४८ हजार ३१२, कनकाई नगरपालिकामा ४१ हजार ९११, मेचीनगरमा ७८ हजार ६५२, शिवसताक्षीमा ५७ हजार ४०९ जना विमित रहेको जिल्ला संयोजक कँडेलले जानकारी दिनुभयो । 

उहाँले जिल्लामा स्वास्थ्य विमाबाट पाउने सेवाप्रति जनताको आकर्षण बढ्दै गएकाले नवीकरण गर्नेको संख्या समेत वृद्धि भइरहेको बताउनुभयो । उहाँले लक्षित वर्ग समूहमा पनि धेरै नागरिकहरु विमित रहेको बताउनुभयो । 

प्रादेशिक अस्पताल भद्रपुरसहित जिल्लाका १४ वटा प्राथमिक सेवा प्रदायक संस्थाबाट विमितहरुले सेवा लिइरहेका छन् । रेफर भएका बिमितहरुले विर्तामोडको विएन्डसी, कनकाई अस्पताल, भद्रपुरको ओमसाई पाथीभरा, दमकको निम्स, आम्दा र दमक अस्पतालबाट विमितले सेवा पाइरहेको उहाँको भनाई छ । झापाका पाँच वटा आँखा अस्पतालबाट समेत स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत विमितले सेवा पाइरहेका छन् । 

उहाँले कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा पालिकाहरु र स्वास्थ्य सेवा प्रदायक संस्थासँग आवश्यक समन्वयको अभाव हुने गरेको बताउनुभयो ।