झापा, २७ चैत । विर्तामोडस्थित अग्रसेन भवनको रजत महोत्सवको अवसरमा अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क कृत्रिम खुट्टा वितरण गरिएको छ ।
कोशी प्रदेशभरिका २६ जनालाई कृत्रिम खुट्टा वितरण गरिएको अग्रसेन भवनका अध्यक्ष सुरेशकुमार अग्रवाल भद्रपुरेले बताउनुभयो ।
आर्थिक अभावमा कृत्रिम खुट्टा लगाउन नपाएका व्यक्तिहरुलाई नाप लिएर कृत्रिम खुट्टा निर्माण गरिएको थियो ।
सो कार्यमा मारवाडी सेवा समिति नेपाल, पशुपति गौशाला धर्मशाला काठमाडौँ, अग्रसेन भवन विर्तामोड र रोटरी क्लव अफ विर्तामोडले सहकार्य गरेका थिए ।
रजत महोत्सवका अवसरमा अग्रसेन भवनमा श्री राम कथा वाचन भइरहेको छ । हरिद्वार भारतका प्रसिद्ध कथावाचक नवराज प्रपन्नजी महाराज प्रमुख कथा बाचक हुनुहुन्छ ।
अग्रसेन भवन झापाकै अग्रणी सामाजिक संस्था हो । रजत उत्सवलाई विविध कार्यक्रमका साथ मनाइएको छ । यही अवसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।
नौदिवसीय श्री राम कथा चैत २९ गतेसम्म सञ्चालन हुनेछ ।