१ वैशाख २०८२, सोमवार

कृषि

झापा गाउँपालिकाका अधिकांश किसान मकैखेतीमा

२६ चैत २०८१, बुधवार
Image

झापा, २७ चैत । खेतबारीमा हुर्किएका पाँच फिट अग्ला मकैका बोटमा सुत्ला च्यापेका भरिला तीन वटासम्म घोगा फलेको देखेर झापा गाउँपालिका वडा नं. २ का नरेन्द्रकुमार आङ्देम्बेको खुशीको सीमा छैन ।

“आँख्लैपिच्छे सुत्ला च्यापेको छ,” बारीमा मकैखेती फस्टाएपछि दंग पर्दै आङ्देम्बे भन्नुहुन्छ–“पोहोरभन्दा यसपाली उत्पादन निकै बढ्ला जस्तो छ ।” उहाँले डेढ बिगाहामा मकै खेती गर्नु भएको छ ।

गाउँमा आङ्देम्बे जस्तै ३७ जना किसान मिलेर वरपिपल कृषक समूह स्थापना गरेका छन् । समूहमा जोडिएर पाँच कठ्ठादेखि चार बिगाहासम्म जग्गा भएका किसानहरु मकै खेतीमा लागेका हुन् ।

झापा जिल्लाको १५ पालिकामध्ये मकै खेतीका लागि प्रख्यात छ झापा गाउँपालिका । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना झापाका प्रमुख रविन्द्र सुबेदीले यो पालिका नेपालमै सबैभन्दा राम्रो मकै उत्पादन हुने क्षेत्र मानिएको बताउनुभयो । 

परियोजनाले झापा गाउँपालिकाको सातै वटा वडा र छिमेकी कनकाई नगरपालिकाको वडा नं. ५ र ६ मा मकै जोन कार्यक्रम लागू गरेको छ । जसका कारण यहाँका ९० प्रतिशत भन्दा बढी किसान व्यावसायिक मकै खेतीतर्फ आकर्षित भएका छन् ।

झापा गाउँपालिका वडा नं. ७ का मिर्जा सोरेन सार्जम बाहा कृषि सहकारी संस्थामा आवद्ध हुनुहुन्छ । उहाँ जस्तै सहकारीमा आवद्ध १९५ जना कृषक व्यावसायिक रुपमै मकै खेतीमा लागेका छन् । 

परियोजना प्रमुख सुबेदीले झापा र कनकाई पालिकाको माटो मकै खेतीका लागि उर्वर रहेको हुँदा सरकारले वि.संं. २०७६ देखि मकै जोन कार्यक्रम लागू गरेको बताउनुभयो । सुरुमा झापा गाउँपालिकाको वडा नं. ६ र कनकाई नगरपालिकाको वडा नं. ९ मा परीक्षणको रुपमा मकै जोन कार्यक्रम लागू भएको थियो । जोन कार्यक्रम लागू हुन पाँच सय बिगाहाभन्दा बढी जग्गामा मकै खेती हुनुपर्दछ । 

यहाँको मकै खेती अरु जिल्लाका लागि नमुना बन्न थालेको छ । नेकपा माओबादीका नेता एवम् पूर्वमन्त्री जनार्दन शर्मा पार्टीले झापाको भद्रपुरबाट सुरु गरेको ‘जनतासँग माओबादी जागरण अभियान’को क्रममा फागुन १३ गते झापा गाउँपालिका पुग्नु भएको थियो ।

हुलाकी मार्ग हुँदै मोरङ जिल्लातर्फ दलबलसहित अघि बढ््नु भएको नेता शर्माको ध्यान झापा गाउँपालिकाको लहलह मकै खेतीले नतान्ने कुरै भएन । उहाँले स्थानीय किसानहरुसँग मकै खेतीका बारेमा सोधीखोजी गर्नुभयो । अनि उहाँले आँखाले भ्याएसम्म हरियाम्ये देखिने मकैबारीको तस्वीर फेसबुकमा पोस्ट गर्दै लेख्नुभयो–“मकै उत्पादनको केन्द्र झापा गाउँपालिकाबाट शुभ विहानी ।”

मकैखेतीका बारेमा उहाँले पोस्ट गर्नु भएको फोटोमा नौ हजारले मन पराएको संकेत (लाइक) गरेका छन् भने छ सय फेसबुक प्रयोगकर्ताले टिप्पणी लेखेका छन् । जापानमा रहेर पत्रकारिता गरिरहनु भएकी झापाकी मनिषा चम्लागाईले टिप्पणीकै क्रममा आफुले त्यहींको मकैखेतीका बारेमा लेखेको पुरानो समाचारको लिङ्क राख्दै लेख्नुभयो–“नेताज्यू, थोरै समय छुट्याएर यो स्टोरी हेरिदिनु होला ।”

धानभन्दा दोब्बर उत्पादन

धानभन्दा मकै दोब्बर फल्ने किसानहरु बताउँछन् । कसै कसैले एक कठ्ठा बारीमा १५ मनसम्म मकै फलाएको बताएका छन् भने प्रति बिगाहा डेढ सय मन मकै त औसतमै फल्ने गरेको झापा गाउँपालिका वडा नं. ४ का मुस्लिम कृषक समूहका कलाम शेख बताउनुहुन्छ ।

“धानभन्दा डब्बल फल्छ मकै,” शेख भन्नुहुन्छ–“मकैमा खर्च पनि धान खेतीको हिसाबमा थोरै हुन्छ । त्यही भएर गाउँका सबै किसानहरुले मकै खेती लगाउनु थाल्नु भएको छ ।” पछिल्लो समय शून्य खनजोतमै मकै खेती हुन थालिसकेको छ । जसका कारण किसानको लागत ह्वात्तै घटेको छ । 

कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतनाथ भण्डारी झापा गाउँपालिका र कनकाई नगरपालिकामा मकै जोन लागू भएता पनि अरु क्षेत्रमा उत्तिकै मकैखेती फस्टाएको बताउनुहुन्छ । पूर्वपश्चिम राजमार्गको उत्तरी क्षेत्रको तुलनामा दक्षिणतिर धेरै मकैखेती हुने गरेको छ । 

झापा जिल्लामा ४४ हजार ३५० हेक्टर र नेपालभर लगभग १० लाख हेक्टर जग्गामा मकै खेती हुने गरेको भण्डारीले बताउनुभयो । हाइब्रिड (वर्णशंकर) जातको मकैको प्रतिहेक्टर उत्पादकत्व ७ दशमलब १७ मेट्रिक टन रहेको छ । 

सिंगै पालिका मकै खेतीमा व्यस्त

झापा गाउँपालिका सिंगै मकै खेतीमा लागेको पाइएको छ । मकै जोन लागू भएकाले सरकारले किसानहरुलाई खेतीका लागि बीउ, मल, उपकरण, सिञ्चाई र भण्डारणका लागि सहयोग पुर्याउने गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई झापाका प्रमुख रविन्द्र सुबेदीका अनुसार झापा गाउँपालिकाको सात वटा र कनकाई नगरपालिकाको दुई वटा वडामा लागू भएको मकै जोन कार्यक्रममा तीन हजार ७३२ महिलासहित छ हजार ४७१ जना कृषक सूचीकृत भएका छन् ।

आदिबासी, जनजाति र मुस्लिम समुदायको वाहुल्य रहेको यस क्षेत्रमा परियोजनाले चक्लाबन्दीमा ठूलो क्षेत्रफलमा मकै खेती गर्ने व्यावसायिक किसानहरुलाई खेतीको क्षेत्रफलका आधारमा सोझै अनुदान दिदै आएको सुबेदीले बताउनुभयो ।

थोरै उत्पादन हुने भएकाले यहाँका किसानले रैथाने जातको मकै खेती गर्न छाडेर धेरै फल्ने र रोग कीरा कम लाग्ने हाइब्रिड जातका मकै खेती गरिरहेको झापा गाउँपालिका वडा नं. ३ को टाघनडुब्बा सामुदायिक साना किसान सहकारी संस्थाकी सदस्य युद्धमाया खड्काले बताउनुभयो ।

मकै जोन कार्यक्रममा सूचीकृत उक्त सहकारीका ८५१ जना किसान व्यावसायिक मकैखेतीमा लागेका छन् । उहाँ भन्नुहुन्छ–“यहाँका किसानको आम्दानीको मुख्य स्रोत नै मकै खेती हो ।”

किसानहरुले जोनमार्फत साझेदारी अनुदानमा कृषि उपकरण पाउने गरेका छन् । सिञ्चाई सुविधाका लागि सहुलियत पाइरहेका छन् । तर, उनीहरुले चाहिएको बेला सरकारले पर्याप्त रासायनिक मल उपलब्ध गराउन भने नसकेको गुनासो व्यक्त गरेका छन् ।  

पोषिलो मकैको रोचक इतिहास

नेपालमा मल्लकालीन समयमा भारतबाट दालसँगै मकै भित्रिएको इतिहासकारहरुले बताउने गरे तापनि पहाडी क्षेत्रमा पुस्तौदेखि मकै नै मुख्य अन्नबाली रहँदै आएको पाइन्छ ।

पहाडमा अहिले पनि मुख्य उत्पादन बाली मकै नै हो । समग्रमा नेपालमा यसलाई दोस्रो ठूलो उत्पादन बालीको रुपमा चिनिन्छ ।

पोषिलो र सस्तो भएकाले पछिल्लो समय धानको साटो मकैको च्याँख्ला बनाएर भात खाने प्रचलन बढ्दै गएको छ । मकै कलिलोमा पोलेर र उसिनेर खान सकिन्छ । छिप्पिएको मकै सुकाएर भण्डारण गरी लामो समय राख्न सकिन्छ ।

मकैको चामल मात्र होइन, चाउचाउ, रोटी, चिउरा लगायतका अनेकन परिकार बनाउन सकिन्छ । पछिल्लो समय यसबाट पशु र पंछीको आहार बनाउन थालिएका कारण मकैको बजार भाउ उच्च हुँदै गएको छ । 

खासगरी गाईभैसी, खसीबाख्रा र कुखुराको आहारा मकैबाट बनाउने गरिन्छ । नेपालमा आहार उत्पादनका लागि उद्योगीहरुले किसानको आँगनमै पुगेर मकै खरिद गर्दै आएका छन् । सरकारले मकैको समर्थन मूल्य भने तोकेको पाइँदैन ।

झापा गाउँपालिका वडा नं. ३ को शान्ति कृषक समूहका भरतकुमार राजबंशीले रासायनिक यूरिया मल अभाव हुने गरेकाले किसानहरु भारतबाट लुकीछिपी ल्याएर प्रयोग गर्न बाध्य रहेको बताउनुभयो ।

खनजोत नगरी खेती 

पछिल्लो समय किसानहरु शून्य खनजोत प्रविधिमा आधारित भएर मकै खेतीमा हुने लागत अझै घटाउने अभियानमा लागेका छन् ।

कृषि ज्ञान केन्द्र झापाले कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीको प्राविधिक सहयोगमा बिर्तामोड–९, कचनकवल–१ र बाह्रदशी–६ को कूल डेढ बिगाहा क्षेत्रफलमा शून्य खनजोत प्रविधिबाट मकै खेतीको सफल परीक्षण गरेको छ ।

शून्य खनजोत प्रविधिका कारण किसानको उत्पादन लागत घटेको र उत्पादनमा कुनै असर नपरेको किसानहरु बताउँछन् । धान काटिसकेपछि बाझो खेतमा मेसिनको प्रयोगबाट मकैको बिउ र मल छर्नुलाई नै शुन्य खनजोत भनिदै आएको छ ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।