झापा, २७ चैत । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीको नेतृत्वमा आक्रामक बजार अनुगमन सुरु भएको छ ।
बजार अनुगमन फितलो भएको र बजारमा कतिपय व्यापारी तथा उद्योगीको बेथिति बढिरहेको जनगुनासो बढिरहेको बेला उपप्रमुख उप्रेतीले आजदेखि बजार अनुगमन थाल्नु भएको हो ।
नगरको बजार अनुगमन पहिलो दिन नै कडा देखिएको छ । मेचीनगर वडा नं. ९ को पूजा फुड प्रोडक्सन उद्योगमा अनुगमन टोलीले तालाबन्दी नै गरेको छ भने मेचीनगर वडा नं. १० को नन्दा फुड इन्डस्ट्रिजका सञ्चालकहरुलाई सात दिनभित्र स्पष्टिकरण र कागजातसहित नगरपालिकामा हाजिर हुन निर्देशन दिएको छ ।
पूजा फुड इन्डस्ट्रिजमा अनुगमन गर्दा पास्ता र सुजी बनाउन म्याद गुज्रिएको मैदा प्रयोग भएको भेटिएको मेचीनगरका खाद्य अधिकृत दिपेन्द्र कार्कीले बताउनुभयो ।
उक्त उद्योगमा ताला लगाएर अनुगमन टोलीले उद्योगकी सञ्चालक पुष्पा जैसवाल चौधरीलाई तीन दिनभित्र स्पष्टिकरण र कागजातसहित नगरपालिकामा हाजिर हुन निर्देशन दिएको थियो ।
मेची उद्योग वाणिज्य संघका उपाध्यक्ष भूमि पौडेल लगायतले सञ्चालन गरेको नन्दा फुड इन्डस्ट्रिजमा टोलीले अनुगमन गरेको थियो ।
उक्त उद्योगले सरसफाईमा लापरवाही गरेको पाइएको थियो । मेचीनगर वडा नं. १४ स्थित सिंगापुर बेभरेज नेपालमा भने अनुगमन टोलीले कागजात र उद्योगको अवस्था सन्तोषजनक पाएको जनाएको छ ।
अनुगमन टोलीमा नगरका खाद्य निरीक्षक दिपेन्द्र कार्की, राजश्व शाखाका प्रमुख प्रेमप्रसाद पराजुली, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरकी खाद्य निरीक्षक संगीता साह, जिल्ला प्रशासन कार्यालय झापाका नायव सुब्बा हरि खतिवडा, घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका नायव सुब्बा सुरेश गौतम, गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरका नायव सुब्बा विजयनन्द चौधरी, इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी नायव निरीक्षक विष्णु दाहाल, मेची उद्योग बाणिज्य संघका सदस्य विष्णु बुढाथोकी लगायत नगरप्रहरीको सहभागिता रहेको थियो ।