१ वैशाख २०८२, सोमवार

गुराँशको राजधानीमा ‘कोशी पर्यटन वर्ष २०८२’ को उद्घाटन

२६ चैत २०८१, बुधवार
Image

झापा, २७ चैत । आज तेह्रथुमको तीनजुरे मिल्के (गुराँश क्षेत्र)मा कोशी प्रदेशको पर्यटन वर्ष २०८२ उद्घाटन भएको छ ।

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यक्रमको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की लगायतले मन्तब्य ब्यक्त गर्दै कोशी प्रदेश पर्यटनका लागि स्वर्गतुल्य भएको चर्चा गर्नु भएको थियो ।

तेह्रथुमको तीनजुरे क्षेत्रस्थित आरआर गार्डेनमा भएको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले विगतका वर्षमा पर्यटनमा भएका कमी कमजोरीलाई सच्याएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । 

समारोहलाई सम्बोधन गर्दै भारत विहारका लोकसभा सदस्य रामप्रित मण्डलले सुन्दर देश नेपालमा भारतीय पर्यटकका लागि आकर्षक गन्तब्य भएको बताउनुभयो । 

तेह्रथुमको लालीगुराँस नगरपालिका नगरप्रमुख अर्जुनबाबु माबुहाङले रित्तिरहेको पहाडलाई यस्ता पर्यटकीय क्षेत्रमा निर्माण गरिने संरचना र प्रचारप्रसारले पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

समारोहमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, कोशी प्रदेश सभामुख अम्बरबहादुर विष्ट, प्रतिनिधिसभा सदस्यहरु सीता गुरुङ, राजेन्द्र राईलगायतको उपस्थिति थियो ।

उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउने भनिएको थियो । तर, उहाँ कार्यव्यस्तताको कारण जनाउँदै आउनु भएन ।