१ वैशाख २०८२, सोमवार

घाइते हात्ती भौतारिदै बस्ती नजिक आउन थाले

२७ चैत २०८१, बिहिवार
Image

झापा, २८ चैत । स्थानीय जंगलमा वर्षौदेखि विचरण गर्दै आएका रैथाने हात्ती घाइते अवस्थामा भेटिन थालेका छन् । केहीको उपचार भएको छ भने अधिकांश घाइते अवस्थामै भौतारिएका छन् ।

मेचीनगर नगरपालिका वडा नं. १ मा बुधवार दिउँसो एउटा हात्ती घाइते अवस्थामा गाउँ नजिक निजी बनसम्म आएको थियो । खुट्टा खोच्याउँदै हिँड्ने उक्त हात्तीको तिघ्रा सुन्निएर डम्म भएको प्रत्यक्षदर्शीले बताउनुभयो ।

“टाढैबाट हेर्दा यो हात्तीको तिघ्रा सुन्निएको प्रष्टै देखिन्छ,” प्रत्यक्षदर्शी रोशन तामाङले भन्नुभयो–“भित्रभित्रै घाउ पाकेको पनि हुनसक्छ । हिँडाइ एकदमै सुस्त छ । मान्छे नजिक जाँदा पनि आक्रामक हुँदैन ।”

केही अघि मेचीनगरकै वडा नं. १३ चारआलीस्थित प्रगति सामुदायिक बनमा अर्को वयस्क हात्ती आँखा नदेखेर हिँडडुल गर्न नसक्ने अवस्थामा भेटिएको थियो । 

पूर्वपश्चिम राजमार्गको नजिक आइपुग्दा सयौं सवारी साधनको ओहोरदोहोरले बिच्किएर गाउँ पस्ला भनेर डिभिजन बन कार्यालय झापाले उक्त हात्तीलाई जंगलमै धपाउन सुरक्षाकर्मी परिचालन गरेको थियो ।

बुद्धशान्ति गाउँपालिका र मेचीनगर नगरपालिकाको सीमामा पर्ने पाँचपोखरी सामुदायिक बनमा घाइते एउटा हात्तीको दुई साता अघि उपचार गरिएको थियो ।

डिभिजन बन कार्यालय झापाका प्रमुुख भरतबाबु श्रेष्ठका अनुसार पुच्छर समेत चुडिएको उक्त हात्तीको उपचारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषबाट दक्ष चिकित्सक ल्याइएको थियो । उपचारपछि हात्ती स्वस्थ बनेको उहाँले बताउनुभयो ।

चारआलीको जंगलमा देखिएको आँखा नदेख्ने हात्ती मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा र भद्रपुर क्षेत्रमा पटकपटक गाउँ नजिक देखा पर्ने गरेको छ । चोटले रन्थनिएर गाउँतिर भौतारिदै पुग्ने गरे यो हात्तीबाट स्थानीयबासी त्रसित छन् ।

चरा तथा बन्यजन्तु संरक्षण समाजका अध्यक्ष देबेन्द्र खरेल झापाको जंगलमा थुप्रै हात्ती घाइते र रोगी अवस्थामा रहेको बताउनुहुन्छ । घाइते र रोगी हात्तीहरु भोको समेत हुने भएकाले आहारको आशमा लाचार भएर मानव वस्ती नजिक आउने गरेको उहाँको भनाई छ ।

“मानवीय आक्रमणमा परेर अधिकांश रैथाने हात्ती घाइते भएका छन्,” उहाँ भन्नुहुन्छ–“केही चाहिँ आपसमा झगडा गर्दा घाइते भएका हुन् ।” मधुमासको अवधिमा वयस्क भाले हात्तीले पोथी हात्तीको खोजीमा निस्कदा बलियो अर्को भाले हात्तीको आक्रमण सामना गर्नुपर्ने हुन्छ । त्यसबेला झगडामा कमजोर हात्ती घाइते हुने गरेका छन् ।

बथानमा हिँड्ने हात्तीहरु संगठित र स्वस्थ हुने बताउँदै बन्यजन्तु संरक्षण अभियन्ता खरेलले एक्लै डुल्ने रैथाने हात्तीले जंगलभित्र आफ्नै साथीको र जंगल बाहिर मानिसहरुको आक्रमण भोग्नु परिरहेको उहाँले बताउनुभयो ।

झापाको जंगलमा दुई दर्जनभन्दा बढी संख्यामा रैथाने हात्तीले आश्रय लिदै आएका छन् । गम्भीर प्रकृतिका चोट लागेका हात्तीहरु उपचार नपाई जंगलभित्रै मर्ने गरेका छन् । धेरैजसो हात्तीको शरीरका विभिन्न अंगमा मानिसले प्रहार गरेको भाला, ढुंगा र धारिलो बस्तुले चोटैचोट देखिने गरेको खरेलले बताउनुभयो ।

जंगली हात्तीको उपचार गर्न सजिलो नभएको डिभिजन बन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठ बताउनुहुन्छ । हात्तीलाई लाग्ने सामान्य चोटपटक प्राकृतिक रुपमै ठिक हुने उहाँको भनाई छ । हात्तीलाई उपचारको क्रममा जंगलभित्रै बेहोश बनाएर घाउमा आवश्यक चिरफार गर्ने र औषधि लगाउने गरिन्छ ।  

“जंगली हात्तीको उपचार गर्नु घरपालुवा जनावरको उपचार गरे जस्तो सजिलो हुँदैन,” उहाँले भन्नुभयो –“दक्ष चिकित्सक प्रकृति संरक्षक कोषबाट बोलाउनु पर्छ । उपचार महँगो पर्छ । तैपनि उपचार गर्दा बाँच्ने अवस्था छ भने हामी जहाँबाट ल्याएर भए पनि जंगली घाइते हात्तीको उपचार गर्छौ ।”