८ वैशाख २०८२, सोमवार

पाथीभरा जाँदै गरेको जीपमा आगलागी, चार जनाको मृत्यु दुई घाइते

८ वैशाख २०८२, सोमवार
Image

झापा, ८ वैशाख । आज विहान ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा पोलबाट लत्रिएको तारको करेन्ट लाग्दा चार जना तीर्थयात्रीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ललितपुर महानगरपालिका १० बस्ने सबिना आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर बस्ने ७० वर्षीय विनोद पौडेल, विनोद पौडेलकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० बस्ने अन्दाजी ४२ वर्षीय दुर्गा भट्टराई छन् ।

सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा आज बिहान फुङलिङ नगरपालिका–१० को सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो ।

सो घटनामा परी ४ जनाको मृत्यु भएको र २ जना घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् एसएसपी भीमबहादुर दाहालले जानकारी दिनुभयो ।

घाइते हुनेमा ललितपुरको ललितपुर महानगरपालिका १० बस्ने ४५ वर्षीया सबिना आचार्य र उनको १० वर्षीय छोरा भबिमय आचार्य छन् । उहाँहरुलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिदैछ ।