२० जेठ २०८२, सोमवार

‘हिसाब बुझाउने पहिलो पार्टी’ बन्यो झापाको एकीकृत समाजबादी

१२ जेठ २०८२, आइतवार
Image

झापा, ११ जेठ । नेकपा एकीकृत समाजबादीको झापा जिल्ला कमिटीले निर्वाचन कार्यालयमा आफ्नो आर्थिक कारोबावारको हिसाब आज बुझाएको छ ।

पार्टी स्थापना भएको २०७८ सालदेखि २०८१ चैत मसान्तसम्म तीन वर्षको हिसाब समाजबादीले भद्रपुरस्थित जिल्ला निर्वाचन कार्यालयमा गएर कार्यालयका प्रमुख तुलसी नेपाललाई बुझाएको पार्टीका जिल्ला अध्यक्ष वीपी भट्टराईले बताउनुभयो ।

समाजबादीको तीन वर्षको कारोवार रु. २५ लाख छ हजार ६१५ रहेको कार्यालयमा बुझाइएको विवरणमा उल्लेख छ । जसमध्ये पार्टीको बैंक खातामा रु. छ हजार मात्र नगद मौज्दात छ ।

हिसाब बुझाउन पार्टीका जिल्ला अध्यक्ष भट्टराईको नेतृत्वमा उपाध्यक्ष सरस्वती लिम्बु, सचिव सानुकुमार लामा, उपसचिवद्वय उदय बराइली र श्रीप्रसाद मिश्र, लक्ष्मण खतिवडा जानु भएको थियो । पार्टीका जिल्ला सहइञ्चार्ज नीलमणि बराल र चन्द्रा श्रेष्ठ समेत सो अवसरमा उपस्थित हुनुहुन्थ्यो ।

समाजबादीले पार्टीको हिसाव आफै बुझाउन आएकोमा निर्वाचन कार्यालयका कर्मचारीहरु समेतले खुशी प्रकट गरेका छन् । “राजनीतिक दलहरु कार्यालयबाट पत्र काटेपछि मात्र हिसाब बुझाउन आउँथे,” निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालको भनाई उद्धृत गर्दै पार्टीका अध्यक्ष भट्टराईले लोकतन्त्र पोस्टसँग भन्नुभयो–“तपाईहरु त आफै आउनुभयो भनेर कार्यालयका प्रमुखले भन्नुभयो ।”

झापामा मात्र नभएर देशभरिमै स्वस्फूर्त हिसाब बुझाउने राजनीतिक दलमा एकीकृत समाजबादी पहिलो पार्टी भएको अध्यक्ष भट्टराईको दावी छ । उहाँ भन्नुहुन्छ–“अरुहरु सुशासनका भाषण र गफ गर्छन्, हामी काम गरेरै देखाउँछौं । निर्वाचन कार्यालयमा दलको हिसाब दुरुस्त बुझाउनेमा हाम्रो पार्टी पहिलो हो ।”

पार्टीले सुशासन र पारदर्शिताको पाटोलाई नभुल्ने उहाँको भनाई छ । राजनीतिक दलहरु हिसाब किताबमा पारदर्शी नहुँदा प्रश्न उठ्ने गरेको हुँदा अब अरु राजनीतिक दललाई पनि पारदर्शी बन्नु दवाव पुग्ने उहाँले बताउनुभयो ।