बाहुनडाँगीको ब्यथा
बाहुनडाँगीको ब्यथा
झापा, १८ जेठ । मेचीनगरको बाहुनडाँगीमा चितुवाले पशुचौपाया मारेर खान थालेपछि खोर नियन्त्रणमा लिनका लागि खोर (पासो) थापिएको छ ।
मेचीनगर वडा नं. २ का अध्यक्ष दिपक बरालले तीन दिनयता एक दर्जन जति बाख्रा र सुँगुर चितुवाले मारिसकेको बताउनु भयो ।
दुई महिना अघि बाहुनडाँगी क्षेत्रकै वडा नं. ४ मा चितुवा देखा परेको थियो । त्यसबेला पनि स्थानीयबासीका खोरमा पसेर चितुवाले खसी र बाख्रा मारेको थियो ।
चितुवाको बालबालिका, श्रमिक र बाटो हिँड्ने जोकोहीलाई आक्रमण गर्ने जोखिम बढेपछि फलामे खोरमा पासो थापेर चितुवालाई नियन्त्रणमा लिन प्रयास भइरहेको वडाध्यक्ष बरालले बताउनुभयो ।
‘रातको ११ बजिसकेको छ, डिभिजन बन कार्यालयको सशस्त्र बनरक्षक टोली सहित हामी चितुवालाई पासो थाप्ने प्रयास गरिरहेका छौं,’ वडाध्यक्ष बरालले मध्यरातमा फेसबुकमा लेख्नु भएको छ –‘केही तल हात्तीको हन्जा पनि आइरहेको खबर छ ।’
गाउँमा दुई वटा बयस्क चितुवा पसेको हुनसक्ने उहाँको अनुमान छ । उहाँले चितुवाबाट सचेत रहन सर्वसाधारणलाई अनुरोध गर्नु भएको छ ।