किसानको दुःख
किसानको दुःख
झापा, १८ जेठ । शिवसताक्षी नगरपालिका–२ मा ‘नेक ब्लास्ट’ रोगका कारण किसानले लगाएको बर्खे धान पाक्न नपाउँदै बोटमै सुकेको छ ।
नगरपालिकाका कृषि शाखा प्रमुख रविन भट्टराईले सो वडाका नौ जना किसानले नौ विगाहा क्षेत्रफलमा लगाएको हर्दिनाथ–१ जातको धानको बोट ठाडै सुकेको बताउनुभयो ।
मिहेनतले लगाएको धानबाली पाक्ने बेलामा रोगले नष्ट भएपछि किसानले निरास भएर स्थानीय पालिका गुहारेका छन् । “लहलह धानका बाला झुल्न थालेको थियो,” एक विगाहा १५ कठ्ठामा लगाएको धान सुकेको बताउँदै स्थानीय शिवकुमारी मैनालीले भन्नुभयो– “एक्कासी के रोग आयो, एकै रातमा सबै धान सर्लक्कै सुकेर भुसमा परिणत भयो ।”
उहाँले हाल सुकिसकेको धानको बोटलाई खेतबाट हटाउन समेत समस्या भएको बताउनुभयो । बर्खे धान पाकेपछि किसानले हिउँदे धान लगाउने चलन थियो । तर, बर्खे धानमा क्षति भएपछि अब अर्को धान रोप्ने कि नरोप्ने भन्ने चिन्ता थपिएको मैनाली बताउनुहुन्छ ।
धानबाली लगाउँदा किसानले मल, बीउ, सिञ्चाई र श्रममा धेरै लगानी गरेका हुन्छन् । “धान पाकेपछि दिउँला भनेर खेत जोत्न ट्याक्टर र खेताला लगाएकी थिएँ,” पीडित किसान सुशीला काफ्ले भन्नुहुन्छ– “आफुले बाली खान पाइएन पाइएन, खेती लगाउँदाको ऋण पो अब कहाँबाट तिर्नु ?”
नेक ब्लास्ट रोग धानको विउबाट सर्ने भएकाले ब्याडमा धान छर्नु अघि बीउ धानको उपचार गर्न आवश्यक रहेको कृषि शाखा प्रमुख भट्टराईले बताउनुभयो । किसानले विउ उपचार नगरी रोप्दा र नाइट्रोजनयुक्त मल बढी प्रयोग गर्दा पनि यस्ता समस्या निम्तिने उहाँको भनाई छ । पाँच वर्ष अघि यस्तै डढुवा रोगले धान सखाप पारेको उहाँले बताउनुभयो ।
उहाँले समस्या देखिएका क्षेत्रमा रोग नियन्त्रणका लागि किसानलाई पालिकाद्वारा निःशुल्क विषादी उपलब्ध गराइरहेको बताउनुभयो । माटो परीक्षण गरी प्राविधिकको सिफारिस अनुसार मात्रै रासायनिक मलको प्रयोग गर्न सके यस्ता रोगको प्रकोप नदेखिने उहाँको भनाई छ ।
स्थलगत रुपमा क्षति हेर्नु भएका स्थानीय पत्रकार बिनोद सापकोटाले सरकारले पीडितहरुलाई क्षतिपूर्ति दिनुपर्ने धारणा व्यक्त गर्नु भएको छ । किसानहरु धानबालीमा क्षति भएपछि निराश बनेको आफुले पाएको उहाँले बताउनुभयो ।