२१ जेठ २०८२, मङ्गलवार

रहेनन् रसिक, सम्झनामा बाँचिरहनेछन्

१९ जेठ २०८२, आइतवार
Image

झापा, १८ जेठ । कुनैबेला रेडियोमा सर्वाधिक गुञ्जिने ‘रातो भाले क्वायँ क्वायँ, सुत्केरीलाई ख्वाएँ, सुत्केरीको नाम गरी टाउको मैले खाएँ’ गीतका गायक, संगीतकार एवम् वरिष्ठ साहित्यकार गणेश रसिकको आज विहान ११ बजे ७८ वर्षको उमेरमा ललितपुरमा निधन भएको छ ।

नेपाल क्यान्सर अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको हो । उहाँ पाँच वर्षदेखि प्रोस्टेट क्यान्सरसँग जुधिरहनु भएको थियो ।

नेपाली सङ्गीतको पहिलो पुस्ता नातिकाजी, अमर गुरुङ, बच्चु कैलाश, नारायणगोपाल, गोपाल योञ्जन, तारादेवी र अरुणा लामापछिको दोस्रो पुस्ताको होनहार प्रतिभा मानिनुहुन्थ्यो रसिक ।

जीवनको उच्च मूल्य, प्राकृतिक छटा र सामाजिक परिवेशको सुन्दर वर्णन, स्थानीयता र मधुर आवाजमा माटोप्रतिको माया र देशभक्तिको भावना उहाँको गीत लेखन तथा गायनका मूल चरित्र थिए ।

भोजपुरको छिनामाखुमा २००४ असोज ४ गते जन्मनु भएको रसिक २०५० सालतिर इलाम बसाइ सर्नु भएको थियो ।

उहाँको छोरी बेलायतबाट आएपछि रसिकको दाहसंस्कार गरिने भएको छ । उहाँको छोरा र पत्नीको निधन भइसकेको छ । 

उहाँका सारंगीभित्र कथासंग्रह, गणेश रसिकका गीतहरु, आकाश गंगाको ओतमुनि, दशगजामा उभिएर, जब सिस्नोहरु टेक्दै हिँडे लगायतका गीत, कविता, निबन्ध, नियात्रा र संस्मरणसहित एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।