विचार
विचार
‘झोले’ भन्ने व्यंग्यात्मक शब्द अहिले नेपाली समाजमा प्रचलित भाषाजस्तो भएको छ । परस्पर चिया गफदेखि लिएर विषय संवाद आदानप्रदानमा ‘झोले’ शब्द खुबै चलेको छ । यसमाथि भर्खरै मात्र चर्चित गायकले गीत पनि निकालिसक्नुभयो ।
सामान्यत : ‘झोले’ भनेको–
१) झोला बोकेर हिड्ने नागरिक सर्वसाधारण पनि पर्छन् ।
२) झोल भएको खानेकुरा खाने पनि ‘झोले’ कहलाउन सक्छन् ।
३) पछिल्लो समय राजनीतिक दलसम्बद्ध कार्यकर्ता पनि झोले कहलाउने गरेका छन् ।
विभिन्न घटनाक्रम र सन्दर्भमा प्रयोग हुन सक्छ ‘झोले’ शब्द । यसको अर्थ घटनाक्रम र सन्दर्भअनुसार फरक पर्न सक्छ । झट्ट हेर्दा सुन्दा बुझिदैन– कसलाई, केलाई र कहाँ प्रसंगमा भनिएको छ ।
म चाहिँ तेस्रो नम्बरको ‘झोले’मा पर्छु । राजनीतिलाई सेवाको माध्यम बुझ्ने गरेको ‘झोले’ । राजनीतिकर्मीका ठाउँबाट एकलयमा हिड्न सक्ने ‘झोले’ हुँ । राजनीतिमा चाहिने विषयगत अध्ययन, चिन्तन मनन, आचरण, इमान, निष्ठासाथ झोला बोक्ने गरेको छु । बिचारले परिष्कृत र व्यवहार निर्देशित राजनीतिक अभियानको ‘झोले’ हुँ । आज हलक्क भएको बखतमात्र होइन, म संलग्न/सम्बद्ध राजनीतिक दल कमजोर हुँदा पनि यसको ‘झोले’ हुँ । मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादको सैद्धान्तिक आलोकमा विश्वास गर्ने ‘झोले’ हुँ । जात, लिंग, वर्ग, धर्म, क्षेत्र आदिका आधारमा भेदभाव नचाहने समानताको पक्षपाती ‘झोले’ हुँ ।
सबै मानवलाई समान अधिकार र अवसरको दृष्टिकोणले हेर्नुपर्छ भन्ने अर्थमा श्रमिकवर्गको शोषणको विरुद्ध हुन्छ र श्रमिक अधिकार, न्याय र उचित पारिश्रमिकका लागि संघर्ष गर्न उत्प्रेरित भएको ‘झोले’ हुँ । व्यक्तिगत फाइदाभन्दा समाजको सामूहिक हितको पक्षमा दृढ़ मतका साथ उभिने ‘झोले’ हुँ । आफ्नो ग्रहण गरेको विचारमा अडिग र संगठनात्मक अनुशासन पालनाको पक्षमा कटिबद्ध ‘झोले’ हुँ । आचरणमा सरल र निष्ठा विकासका दृष्टिकोणले विलासिताबाट टाढा रहन चाहने र व्यक्ति व्यवहारमा इमानदार र पारदर्शी हुनुपर्छ भन्ने ‘झोले’ हुँ ।
नेतृत्वले जनमतसँग मिल्दोजुल्दो व्यवहार गर्नुपर्छ भन्ने ‘झोले’ हुँ । जनमतसँग नजिकै रहनुपर्छ, जनमतको दुःख, पीडा, अपेक्षा आदि बुझ्न सक्ने जनप्रतिनिधि हुनुपर्छ भन्ने ‘झोले’ हुँ । व्यक्ति स्वयंको व्यवहारमा पनि स्वार्थ र विभेदरहित व्यक्तित्व विकासको पक्ष हुनुपर्छ र सामाजिक न्याय, समानता र बहुसंख्यक जनमतको भलोको पक्षमा काम गर्नुपर्छ भन्ने ‘झोले’ हुँ ।