झापा, २४ जेठ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको जीवनस्तरमा परिवर्तन अनुभूत गराउने दीगो आर्थिक समृद्धि अबको साझा गन्तव्य हुनुपर्ने धारणा व्यक्त गर्नु भएको छ ।
झापाको विर्तामोडमा आजदेखि सुरु भएको नेकपा (एमाले) कोशी प्रदेश विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटनपछि सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले उक्त धारणा व्यक्त गर्नुभएको हो ।
''अबको हाम्रो प्रमुख गन्तव्य भनेको जनताको जीवनस्तरमा प्रत्यक्ष एवम् सकारात्मक परिवर्तन अनुभूत गराउने दीगो आर्थिक समृद्धि हासिल गर्नु हो,'' उहाँले भन्नुभयो-''संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्नु हो ।''
राष्ट्रलाई आर्थिक रुपले समृद्ध र विकसित बनाएर मात्र समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न सकिने चर्चा गर्दै उहाँले यसका लागि विज्ञान तथा प्रविधिको उपयोग अपरिहार्य रहेको बताउनुभयो ।
उहाँले राज्यका तर्फबाट विज्ञान, प्रविधि र गणित शिक्षालाई विशेष प्राथमिकता दिदै यस क्षेत्रका विज्ञ तथा विशेषज्ञहरुको ज्ञान, शीप र अनुभवको समुचित उपयोग गर्न आवश्यक रहेको बताउनुभयो ।
विद्यालय शिक्षादेखि उच्च शिक्षासम्मका शैक्षिक संस्थाहरुमा पर्याप्त साधन र श्रोत सहितका प्रयोगशाला दक्ष शिक्षक तथा प्राविधिक जनशक्तिको व्यवस्था गर्नु राज्यको दायित्व भएकोमा जोड दिदै उहाँले नेपालमा मुलुकका लागि चाहिने अत्यन्तै उपयोगी प्राकृतिक श्रोत र सम्पदाहरु प्रचुर रूपमा उपलब्ध रहेको बताउनु भयो ।
प्राकृतिक स्रोत र साधनको दीगो र अधिकतम उपयोग गर्दै स्वदेशी उत्पादन र उत्पादकत्व वृद्धिका साथै व्यापक रोजगारीको सिर्जना गरी स्वाधीन, आत्मनिर्भर र सुदृढ अर्थतन्त्रको निर्माण गर्न सकिने जनाउँदै उहाँले अबको शिक्षा प्रणालीको मूल लक्ष्य अनुसन्धान, प्रयोग, आविष्कार, प्रविधि र सिर्जनामार्फत राष्ट्रिय विकासमा योगदान पुऱ्याउने जनशक्ति निर्माणमा केन्द्रित हुनु पर्ने सुझाव दिनुभयो।
पूर्वराष्ट्रपति भण्डारीले विद्यार्थीले बनाएको रिमोट कन्ट्रोलको स्वीच थिचेर दीप प्रज्ज्वलित गर्दै जेठ २४, २५ र २६ गते तीन दिनसम्म सञ्चालन हुने उक्त प्रदर्शनीको विर्तामोडस्थित देवी माध्यमिक विद्यालयको परिसरमा आज उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा कोशी प्रदेशका १२ जिल्लाका ७० भन्दा बढी विद्यालयले आफ्ना विद्यार्थीद्वारा निर्मित वैज्ञानिक प्रयोगका सामग्री प्रदर्शन गरेका छन् ।
प्रदर्शनीमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यालयलाई क्रमशः रु. चार लाख, रु. तीन लाख, रु. दुई लाख र रु. एक लाख नगद पुरस्कार प्रदान गरिने आयोजक विज्ञान तथा प्रविधि विभागका प्रमुख गणेश पोखरेलले बताउनु भयो ।
विज्ञान तथा प्रविधि विभागका प्रमुख गणेश पोखरेलको अध्यक्षतमा भएको उद्घाटन कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश समितिका इञ्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राई, पार्टीका प्रदेश सचिव राजकुमार भण्डारी लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।