झापा, २५ जेठ । मेचीनगर नगरपालिकाको घरपालुवा पशुहरुमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को संक्रमण देखा परेको छ ।
मेचीनगरको वडा नं. २,३,७,८, ९ र १४ मा ‘लम्पी स्किन’ र वडा नं. ६ को बंगुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’को संक्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताउनुभयो ।
“लम्पी स्किन र स्वाइन फ्लूको संक्रमण पुष्टि भयो,” उहाँले भन्नुभयो–“नगरको पशु सेवा शाखाबाट संक्रमण नियन्त्रण र रोकथामका लागि आवश्यक परीक्षण, उपचार र सतर्कताका सात जना प्राविधिक कर्मचारी परिचालन गरिरहेका छौं । कोशी प्रदेश सरकार र संघीय सरकारका निकायहरुमा समेत आवश्यक सहयोग र समन्वयका लागि अनुरोध गरिसकेका छौं ।”
पशु सेवा शाखाका प्राविधिक छत्र राईका अनुसार गाई र बाच्छीहरुमा ‘लम्पी स्किन’को संक्रमण देखिएपछि किसानको गोठमै पुगेर प्राविधिक टोलीले उपचार सुरु गरेको छ । गाईबस्तको जिउभरि घाउ खटिरा र ज्वरो आउने लक्षण रहेको जनाउँदै उहाँले किसानहरुलाई गोठको सरसफाईका लागि फिनेल लगायतका सामग्री वितरण गरिएको बताउनुभयो । संक्रमित गाई र बाच्छीहरुलाई अलग्गै राखेर मलम लगाउने र पेनकिनर औषधि खुवाउने गरिएको उहाँले बताउनुभयो ।
‘लम्पी स्किन’ले महामारीको रुप नफैलियोस् भन्नाका लागि संक्रमण फेला परेको गोठको पाँच सय मिटर आसपासका किसानले पालेका डेढ सयभन्दा बढी गाईवस्तुमा पशु प्राविधिक टोलीले ‘रिङ भ्याक्सिन’ लगाउने गरेको छ ।
यो रोग लागेको पशुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना अरुचि हुने र दुध कम दिने लक्षण देखा परेको राईले बताउनुभयो । यो रोग संक्राकम भाइरसबाट फैलिने गर्दछ ।
फार्मका ८० वटा बंगुर मरे
मेचीनगर वडा नं. ६ स्थित बबिता बंगुुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’का कारण ८० वटा बंगुर मरेका छन् । पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीषणबाट मरेका बंगुरहरुमा ‘अफ्रिकन स्वाइन फ्लू’ पुष्टि भएको पशु सेवा शाखाका प्रमुख बिक्रम गुरुङले बताउनुभयो ।
“फार्ममा अचानक बंगुर मरेको खबर आएपछि त्यसको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो,” उहाँले भन्नुभयो– “प्रयोगशालाबाट आएको रिपोर्टमा ‘अफ्रिकन स्वाइन फ्लू’ पुष्टि भयो ।”
फार्मकी सञ्चालक बबिता गहतराजले जेठभरिमा ८० वटा बंगुर भकाभक मर्दा ठूलो क्षति भएको बताउनुभयो । नगरपालिकाको पशु सेवा शाखा प्रमुख गुरुङसहितको प्राविधिक टोलीले प्रभावित बंगुर फार्म र आसपासका क्षेत्रका रोग फैलिन नदिन औषधि उपचार र सचेतनाका कार्यहरु गरिरहेको छ ।