झापा, २५ जेठ । पूर्व राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले राज्यको चौथो अंगको रुपमा लिइने आम सञ्चार क्षेत्रमा महिलाको पहुँच र भूमिका अझै न्यून रहेको बताउनु भएको छ ।
नारी सञ्चार गृह झापाद्वारा आज विर्तामोडमा आयोजित 'अक्षयकोष घोषणा, पुस्तक विमोचन र दाता सम्मान' कार्यकमलाई सम्बोधन गर्दै उहाँले उक्त धारणा व्यक्त गर्नु भएको हो ।
आम सञ्चार जगतमा महिला सहभागिता क्रमशः विस्तार हुँदै आएको भए तापनि संख्यात्मक दृष्टिले महिलाहरुको उपस्थिति अझै न्यून रहेको उहाँको भनाई थियो ।
उहाँले समाचार सम्पादन, निर्णय र नीति निर्माणको तहमा महिलाहरुको पहुँच र भूमिका ज्यादै सीमित रहेकोमा चिन्ता व्यक्त गर्दै सञ्चार माध्यमको नेतृत्व तहमा यो संख्या ज्यादै न्यून रहेको बताउनु भयो ।
जनसंख्याको आधा हिस्सा ओगटेका महिलासंग सम्बन्धित विषयहरु सञ्चार माध्यममा प्रभावकारी रूपमा उठाउनका लागि महिला पत्रकारहरुको भूमिका विशेष रूपमा महत्त्वपूर्ण रहनेमा उहाँले जोड दिनुभयो ।
"समाचार सम्पादन' निर्णय र नीति निर्माणको तहमा महिलाहरुको पहुँच र भूमिका ज्यादै सीमित रहेको छ," उहाँले भन्नुभयो- "महिलाहरुले आफैले प्रत्यक्ष रूपमा अनुभव गरेका, नजिकबाट देखेका र जीवनका विभिन्न चरणमा भोगेका मुद्दाहरुमा महिलाद्वारा नै तयार गरिने सामग्रीमा थप सम्बेदशीलता, आफ्नो पहिचान र यथार्थ समेटिएको हुन्छ ।"
कार्य स्थलमा लैंगिक असमानता, यौन दूर्व्यवहार, पारिश्रमिकमा भेदभाव तथा पेशागत अवसरहरुमा असमान पहुंच जस्ता समस्याहरु अझै रहेको चर्चा गर्दै पूर्वराष्ट्रपति भण्डारीले महिलाहरुका लागि पत्रकारिता पेशा सामाजिक परिवेशका कारण चुनौतिपूर्ण रहेको बताउनु भयो ।
उहाँले रात्रिकालीन ड्यूटी वा सम्बेदनशील जिम्मेवारीहरूमा महिला पत्रकारहरुलाई सहभागी हुन वञ्चित गरिनुका साथै सामाजिक सञ्जाल तथा डिजिटल माध्यम मार्फत चरित्र हत्या, धम्की तथा दूर्व्यवहारको शिकार बनाइनु अत्यन्तै चिन्ताको विषय भएको बताउनु भयो ।
"यस्तो चुनौतिपूर्ण परिवेशका बावजुद पनि महिला पत्रकारहरुले देखाएको पेशागत दृढता, आत्मबल तथा सामाजिक परिवर्तनप्रतिको लगाव र प्रतिवद्धता प्रशंसनीय छ"- उहाँले भन्नुभयो ।
नारी सञ्चार गृह झापा लगायत केही संचार संस्थाहरुले महिला पत्रकारहरुको पेशागत उन्नयनका लागि देखाएको सक्रियता र केही सञ्चार संस्थाले लैंगिक समानताका दृष्टिले ल्याएका नीति र असल अभ्यासहरु सकारात्मक रहेको उल्लेख गर्दै उहाँले महिला पत्रकारहरु पनि नेपाली समाजको अविभाज्य अंग भएको हुनाले उनीहरुले भोगिरहेका समस्या आम नेपाली महिलाले सामना गरिरहेका संरचनागत असमानता अवसरको अभाव र लैंगिक पूर्वाग्रहकै विस्तारित स्वरूप भएको बताउनु भयो ।
पूर्व राष्ट्रपति भण्डारीले सोही अवसरमा नारी सञ्चार गृह झापाको अक्षयकोषमा सहयोग पुऱ्याउनु हुने दाताहरुलाई सम्मान पत्र प्रदान गर्नु भएको थियो भने संस्थाद्वारा प्रकाशित 'सञ्चारमा नारी' नामक पुस्तकको विमोचन गर्नु भएको थियो ।
पत्रकार महिलाहरुको साझा संस्था नारी सञ्चार गृहले आफ्नो अक्षयकोषका रु. ५० लाख पुऱ्याएको अध्यक्ष रेजिना गौतमले बताउनु भयो । अध्यक्ष गौतमले नै संस्थाको अक्षयकोषमा रु. ५० लाख संकलन भइसकेको घोषणा गर्नु भएको थियो ।
नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव जोसना श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष सावित्रा दाहालले संस्थाको परिचय प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा नेपाल पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारीले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो भने साहित्यकार सुभद्रा भट्टराई र कुमार भट्टराईले पुस्तकको समीक्षा गर्नु भएको थियो ।
उक्त अवसरमा संविधानसभा सदस्य धमृशीला चापागाई र अम्बिका खवास, विर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतरा प्रसाई, उपप्रमुख नगेन्द्र संग्रौला, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिकी उपाध्यक्ष अम्बिका भण्डारी, महासंघको झापा अध्यक्ष एकराज गिरी, उपाध्यक्ष सुब्रत न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।