झापा, २६ जेठ । विर्तामोडमा आयोजित तीन दिवसीय विज्ञान तथा प्रविधि प्रदर्शनीमा बुद्धशान्तिको आदर्श माध्यमिक विद्यालयले पहिलो स्थान हासिल गरी रु. चार लाख नगद पुरस्कार जितेको छ ।
प्रतियोगिताको आज अन्तिम दिन विज्ञ निर्णायक टोलीले नतिजा सुनाएको थियो । जस अनुसार विर्तामोडको देवी माध्यमिक विद्यालय दोस्रो र तेह्रथुमको सिंहदेवी माध्यमिक विद्यालय तेस्रो भएको छ ।
दोस्रो हुने विद्यालयले रु. तीन लाख र तेस्रो हुनेले रु. दुई लाख नगद पुरस्कार जितेको छ ।
प्रतिभा प्रोत्साहन पुरस्कार वापत नौ वटा विद्यालयले जनही रु. २५ हजार पुरस्कार पाएका छन् ।
पाँचथरको फिदिम मावि, इलामको फिक्कल मावि, सुनसरीको ल्याबोरटरी मावि, खोटाङको चिसापानी मावि, ताप्लेजुङको भानु जन मावि, संखुवासभाको मनकामना रत्न अम्बिका मावि, झापाको हिमाली मावि र मोरङको रिलायन्स माविले प्रतिभा प्रोत्साहन पुरस्कार पाएका छन् ।
नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा प्रविधि विभागले उक्त कोशी प्रदेशस्तरीय प्रदर्शनीको आयोजना गरेको हो । प्रथम हुने विद्यालयका विद्यार्थीले ‘अटोमेटिक भोल्टेज कन्ट्रोलर सर्किट’ प्रदर्शनीमा राखेका थिए । दोस्रो हुने विद्यालयका विद्यार्थीले ‘बोल्ने रोबोट’ प्रदर्शनीमा राखेका थिए ।
देवी माविमा आयोजित प्रदर्शनीको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नु भएको थियो ।
प्रतियोगितात्मक प्रदर्शनीमा प्रदेशका १२ जिल्लाका ७० भन्दा बढी विद्यालय सहभागी रहेका थिए । एक लाख दर्शकले प्रदर्शनीको अवलोकन गरेको आयोजकको भनाई छ ।