२८ जेठ २०८२, मङ्गलवार

मेचीनगरको स्वाइन फिवर र लम्पी स्किन नियन्त्रण गर्न मन्त्रालयले खटायो टोली

२७ जेठ २०८२, सोमवार
Image

झापा, २६ जेठ । मेचीनगर नगरपालिकाको घरपालुवा पशुहरुमा देखा परेको अफ्रिकन स्वाइन फिवर र लम्पी स्किनको संक्रमण नियन्त्रण गर्न सरकारले उच्च तहको टोली खटाउने भएको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज उक्त टोली पठाउने निर्णय गरेको हो ।

मन्त्रालयले खटाएको टोलीले प्रभावित ठाउँको पहिचान गरी नियन्त्रणको उपाय अवलम्बन गर्ने जनाइएको छ ।

मन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको हो । टोलीमा प्रदेश र स्थानीय तहका प्राविधिकहरुलाई समेत समेटिने बताइएको छ ।

मेचीनगरको वडा नं. २,३,७,८, ९ र १४ मा लम्पी स्किन र वडा नं. ६ को बंगुर फार्ममा ‘अफ्रिकन स्वाइन फिवरको संक्रमण पुष्टि भएको थियो ।

पशु सेवा शाखाका प्राविधिक छत्र राईका अनुसार गाई र बाच्छीहरुमा लम्पी स्किनको संक्रमण देखिएपछि किसानको गोठमै पुगेर प्राविधिक टोलीले उपचार सुरु गरिएको छ । गाईबस्तको जिउभरि घाउ खटिरा र ज्वरो आउने लक्षण रहेको जनाउँदै उहाँले किसानहरुलाई गोठको सरसफाईका लागि फिनेल लगायतका सामग्री वितरण गरिएको बताउनुभयो । संक्रमित गाई र बाच्छीहरुलाई अलग्गै राखेर मलम लगाउने र पेनकिनर औषधि खुवाउने गरिएको उहाँले बताउनुभयो ।

मेचीनगर वडा नं. ६ स्थित बबिता बंगुुर फार्ममा अफ्रिकन स्वाइन फिवरका कारण ८० वटा बंगुर मरेका छन् । 

फार्मकी सञ्चालक बबिता गहतराजले जेठभरिमा ८० वटा बंगुर भकाभक मर्दा ठूलो क्षति भएको बताउनुभयो ।