३० जेठ २०८२, बिहिवार

असार लाग्न आट्यो, सुरु नै भएनन् मेचीनगरका ४२० वटा योजना

२८ जेठ २०८२, मङ्गलवार
Image

झापा, २७ जेठ । असार लाग्न आट्यो, मेचीनगर नगरपालिकाका ४२० वटा योजना तथा कार्यक्रमको प्रक्रिया अहिलेसम्म सुरु भएको छैन ।

नगरपालिकाको योजना मोनिटरिङ प्रणालीका अनुसार जेठ २६ गतेसम्ममा योजना कार्यान्वयनमा ५५ प्रतिशत प्रगति देखिएको छ ।

नगरपालिकाको आव २०८१/८२ को वार्षिक बजेट अनुसार सम्पन्न हुनुपर्ने योजना तथा कार्यक्रमको कूल संख्या ९२९ रहेको छ । जसमध्ये जेठ २६ गतेसम्ममा ५०९ वटा योजनाको काम सम्पन्न भइसकेको वा चलिरहेको छ ।

तर, ४२० वटा योजना तथा कार्यक्रमको प्रक्रिया नै अहिलेसम्म सुरु भएको छैन । सुरु नै नभएका यी योजनाहरु असार महिनाभित्र सम्पन्न गरिसक्नु पर्ने हुन्छ ।

योजनाहरुमध्ये ४८ वटाको कार्य सम्पन्न भएर भुक्तानी समेत भइसकेको छ भने ७१ वटाको कार्य सम्पन्न भइसकेको छ ।

यसैगरी, ११७ वटा योजनाको सम्झौता सम्पन्न भइसकेको, ९८ वटा योजनाको कार्यादेश जारी भइसकेको, नौ वटाको बोलपत्र आह्वान भइसकेको र २३ वटा योजनामा उपभोक्ता समिति गठन भइसकेको जनाइएको छ ।

वडागत आधारमा हेर्दा सबैभन्दा बढी योजना परेको वडा नं. ४ मा ५६ प्रतिशत मात्र प्रगति देखिएको छ । उक्त वडामा ७३ वटा योजना परेका थिए । जसमध्ये ४१ वटाको मात्र प्रक्रिया सुरु भएको छ ।

दोस्रो धेरै योजना पाएको वडा नं. ७ मा ४४ प्रतिशत प्रगति देखिएको छ । जहाँ ५२ वटा योजना परेका थिए भने २३ वटाको मात्र प्रक्रिया सुरु भएको छ ।

तेस्रो धेरै  योजना पाएको वडा नं. ६ मा ४० प्रतिशत मात्र प्रगति छ । उक्त वडामा ५० वटा योजना रहेकोमा २० वटाको मात्र प्रक्रिया सुरु भएको छ ।

वडा नं. ९ ले ३१ वटा मात्र योजना पाएको थियो । सो वडामा २८ वटा योजनाको प्रक्रिया सुरु भइसकेको छ । जसको प्रगति ९० प्रतिशत रहेको छ ।

प्रगति विवरण राम्रो भएका वडाहरुमा वडा नं. १ को ८८ प्रतिशत, वडा नं. ३ को ८० प्रतिशत, वडा नं. १२ को ८० प्रतिशत, वडा नं. २ को ७९ प्रतिशत, वडा नं. १० को ७४ प्रतिशत, वडा नं. ११ को ७० प्रतिशत र वडा नं. १३ को ६९ प्रतिशत रहेको छ ।

वडा नं. ५ को ५४ प्रतिशत, वडा नं. ७ को ४४ प्रतिशत, वडा नं. ८ को ३८ प्रतिशत, वडा नं. १४ को ५६ प्रतिशत र वडा नं. १५ को ५७ प्रतिशत प्रगति रहेको छ ।

शाखातर्फ पशु विकास शाखा, शिक्षा शाखा र पूर्वाधार विकास शाखाको प्रगति उच्च रहेको छ ।

पशु विकास शाखाले ९२ प्रतिशत, शिक्षा शाखाले ६४ प्रतिशत र पूर्वाधार विकास शाखाले ५३ प्रतिशत प्रगति गरेको छ ।

यसैगरी, कृषि विकास शाखाले ४० प्रतिशत, महिला तथा वालवालिका शाखाले २७ प्रतिशत, सामाजिक विकास शाखाले २३ प्रतिशत, वातावरण तथा विपद् व्यवस्थापन शाखाले २२ प्रतिशत र प्रशासन तथा योजना अनुगमन शाखाले ५ प्रतिशत प्रगति गरेको योजना मोनिटरिङ प्रणालीले जनाएको छ ।

स्वास्थ्य शाखा, सहकारी शाखा र कानून उपशाखाको प्रगति शून्य देखिएको छ ।