३१ जेठ २०८२, शुक्रवार

चिनियाँ राजदूत चेन सोङ्गद्वारा विद्यार्थीलाई चार लाख छात्रवृत्ति

२९ जेठ २०८२, बुधवार
Image

झापा, २८ जेठ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले झापाका चार वटा विद्यालयका ४० जना विद्यार्थीलाई छात्रवृत्ति र एक हजार विद्यार्थीलाई स्टेशनरीसहितको व्याग तथा खेलकुदका सामाग्री वितरण गर्नुभएको छ । 

उहाँले विर्तामोड नगरपालिका –८ को शुक्रराज आधारभूत विद्यालय, बिर्तामोड–९ स्थित दुर्गा माध्यमिक विद्यालय, देवकोटा आधारभूत विद्यालय र अर्जुनधारा नगरपालिका–६ को शनिश्चरे माध्यमिक विद्यालयका ४० जना विद्यार्थीलाई रु. १० हजारका दरले छात्रवृत्ति प्रदान गर्नुभएको हो । 

उहाँले आज र मंगलबार आयोजित कार्यक्रममा प्रत्येक विद्यालयका १० जना विद्यार्थीलाई सो छात्रवृत्ति प्रदान गर्नुभएको छ भने शनिश्चरे माविका छ सय र दुर्गा माविका चार सय विद्यार्थीलाई १९ प्रकारका स्टेशनरी सामाग्री प्रदान गर्नुभएको छ । उहाँले चिनियाँ राजदुतावासको रु. ५० हजार सहयोगमा निर्माण भएको शुक्रराज आमाविको चार कोठे दुई तले भवनको उद्घाटन समेत गर्नुभएको छ । 

राजदूत चेन सोङ्गले चीनको विकास शिक्षाकै कारण भएको बताउँदै आगामी दिनमा समेत शिक्षाका क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएको छ । उहाँले नेपाल र चीनको सम्बन्ध पुरानो रहेको बताउँदै २०७२ सालमा गएको भूकम्प पछि नेपालका विभिन्न स्थानमा १० वटा विद्यालयका भवन निर्माणमा सहयोग गरेको बताउनुभयो । 

कार्यक्रममा विर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले झापाको विकासको लागि पूर्वाधार, कृषि, शिक्षालगायतका क्षेत्रमा चिनियाँ दुतावासले पुर्याएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । 

उहाँले आजै दुताबासकै सहयोगमा बन्न लागेको देवकोटा आमावि भवनको समेत शिलान्यस गर्नुभएको छ । चिनियाँ राजदूत सोङ्गले विर्तामोड र अर्जुनधाराका दुई वटा गाई फार्म, दुई वटा माछा फार्मलाई आवश्यक प्राविधिक सहयोग  गर्ने बताउनुभयो । उहाँले अर्जुनधारा र विर्तामोड नगरपालिकामा रहेका मुढा, बाँसबाट निर्मित सामाग्री, सुपारीको पातबाट निर्माण गरिने दुना टपरी उद्योगको समेत अवलोकन गरी चीनमा बजारीकरण गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।